पोखरा(कास्की), १९ माघ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।
पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्याह्न १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र भुटान दुवै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले पराजित गर्यो भने प्रतियोगिताको उद्घाटन खेलमा भुटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भयो ।
त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बङ्गलादेश र भारतले भने एकरएक खेल जितेर समान तीन अङ्क जोडेका छन् ।
प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो ।


















