Prakash Adhikari February 8, 2026

माले(माल्दिभ्स), २५ माघ । नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगको सेमिफाइनलमा पुगेको छ ।

आइतवार राति सम्पन्न खेलमा माल्दिभ्सको हुर्रा कम्युनिटी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

माल्दिभ्सको मालेस्थित शोसल सेन्टर इन्डोर हलमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली हुर्रा कम्युनिटी क्लबलाई कुनै मौका नदिई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

पहिलो सेटमा २५–१९ ले सहज जित निकालेको पुलिसले दोस्रो सेटमा हम्मे हम्मे पर्यो । तै पनि पुलिसले २६–२४ ले सेट आफ्नो पक्षमा पार्दै खेलमाथि नियन्त्रण कायम राख्यो।

तेस्रो सेटमा पुनः आक्रामक लय समातेको पुलिसले २५–१६ को जित निकाल्दै खेल समाप्त गर्‍यो। यो जितसँगै पुलिस क्लब अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग भिड्नेछ।

सेमिफाइनल यो खेल सोमबार हुनेछ।

साविक विजेता(सन २०२४) रहेको नेपाल पुलिसको टिम पुनः उपाधि चुम्ने उत्साहका साथ माल्दिभ्समा खेलिरहेको छ ।

यस बर्षको काभा वुमन्स क्लब भलिबल च्याम्यिनसीप २०२५ मा नेपाल, श्रीलंका, उज्वेकिस्तान, कजाकिस्तान, इरान र माल्दिभ्सका ७ क्लबले भाग लिएका छन् । जसमा नेपालबाट नेपाल पुलिस क्लब,श्रीलंकाबाट हिर्दारमानी, उज्वेकिस्तानबाट हुमो भलिबल क्लब, कजाकिस्तानबाट टुरान भलिबल क्लब, इरानबाट फौलाद र माल्दिभ्सबाट हुर्रा र वामको क्लब सहभागी छन् ।

सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा माल्दिभ्सको वामको, श्रीलंकाको हिर्दारमनी स्पोर्टस क्लब र कजाकिस्तानको टुरान भलिबल क्लब रहेका छन् भने समूह बीमा नेपालको पुलिस क्लब, उज्वेकिस्तानको हुमो भलिबल क्लब, इरानको फौलाद मोबारक सेपहन क्लब र माल्दिभ्सको हुर्रा कम्युनिटी क्लब रहेका छन् ।

समूह चरणमा अंकतालिकामा शीर्षमा रहेका समूह ए र बीका टोलीले अर्को समूहको दोस्रो स्थानमा रहेको टोलीसंग सेमिफाइनल खेल्ने छन् । १० फेब्रअरीका दिन सेमिफाइनलका उपविजेताबीच तेस्रो स्थानको लागि र सेमिफाइनलका विजेताबीच फाइनल खेल हुने समयतालिका रहेको छ ।

Share Now