चितवन, ४ फागुनः विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु (भन्ते)हरुको टोली लुम्बिनीतर्फ लागेको छ ।
आइतबार ४ः४५ बजे भरतपुरको महाबौद्ध गुम्बा तीनखोले आइपुगेको २५ जना भिक्षुको टोली आज बिहान नारायणगढको पुलचोक हुँदै गैँडाकोटको बाटोबाट लुम्बिनीतर्फ लागेको हो । थाइल्यान्डबाट सुरू गरेको यात्रा ५२ दिनपछि आइतबार चितवन आइपुगेको थियो । आज ५३ औँ दिनमा यहाँबाट लुम्बिनीतर्फ लागेको हो । बौद्ध धर्म सेवा समिति तिनखोलेले उहाँहरुलाई आइतबार स्वागत गरी गुम्बामा राखेको थियो । समितिका अध्यक्ष दलबहादुर गुरुङ्का अनुसार आज बिहान उहाँहरुलाई बिदाइ गरिएको हो ।
गुरुङका अनुसार थाइल्यान्डबाट भारतको आसाम, त्रिपुरा हुँदै नेपालको लुम्बिनीसम्मको यात्रामा टोली यहाँ आइपुगेको हो । यात्राको संयोजन गरिरहेका भिक्षु मेधङ करेस्थ स्थवीरका अनुसार ‘शान्तिका लागि धम्म यात्रा, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने नारासहित भन्तेको टोली नेपाल यात्रामा आएको हो ।
विश्व यात्रामा निस्किएका पाँच समूहमध्ये एउटा समूह नेपाल आइपुगेको उहाँले जानकारी दिनुभयो । विश्वमा विभिन्न कारणले हुँदै आएको हत्या, हिंसा तथा आपराधिक गतिविधि रोक्नका लागि शान्तिको कामनासहित उहाँहरु यात्रामा निस्कनुभएको हो । उहाँले भन्नुभयो, “भन्तेहरुले यतिका दिनसम्म बडो कष्टपूर्ण यात्रा गरिरहनुभएको छ । हामी प्राणी जगत्कै हितका लागि उहाँहरुले कठोर यात्रा गरिरहनुभएको छ । यसबाट शान्ति, अहिंसा र नैतिक जीवनको सन्देश फैलाउन मद्दत पुग्छ ।”
नेपाल प्रवेश गरेको सातौँ दिनमा चितवन आइपुगेको टोलीले नेपालमा मात्रै लुम्बिनीसम्मको ३१९ किलोमिटर पदयात्रा तय गर्नेछ । नेपाल भित्रिएको १५औँ दिनअर्थात् २२ फेब्रुअरीसम्म हुने यात्राका लागि बाटोमा पर्ने गुम्बा तथा बौद्ध विहारहरुसँगको समन्वयमा ठाउँ–ठाउँमा भेटघाट तथा विश्राम गर्दै आएका छन् ।
एकदिनमा करिब ३५ किलोमिटर यात्रा तय गर्दै आएका उनीहरुलाई चितवनको बसाइमा महाबौद्ध गुम्बाले व्यवस्था गरेको थियो । समितिका अध्यक्ष गुरुङ्ले विश्व यात्रामा निस्किएका भन्तेहरुलाई ऐतिहासिक गुम्बामा स्वागत गर्न पाउँदा गुम्बा परिवार असाध्यै खुसी भएको बताउनुभयो ।
थाइल्यान्डबाट करिब पाँच हजार किलोमिटर यात्रामा निस्किएका भन्तेहरुलाई चितवनवासी शुभेच्छुकहरुले भरतपुरको गोन्द्राङबाट स्वागत गरेर गुम्बासम्म पैदलयात्रासँगै गरेका थिए । यहाँबाट पुलचोकसम्म आज पु-याएका हुन् ।



















