Prakash Adhikari October 31, 2026

काठमाडौं, । काठमाडौं उपत्यकामा शनिबार दिनभर वर्षाको सम्भावना रहेपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका दुई खेल प्रभावित हुने जोखिम बढेको छ।

सामाजिक सञ्जालमा आएको खेल मैदानको तस्विरमा खेल मैदान पानी जमेर पोखरी जस्तो भएको देखिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार दुई खेलको तालिका रहे पनि मौसम प्रतिकूल हुँदा खेल सञ्चालन अन्योलमा परेको छ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसमविद्हरूले काठमाडौंमा शनिबार साँझसम्म वर्षा जारी रहन सक्ने बताएका छन्। शुक्रबार दिनभर र गएराति रातभर परेको वर्षाले कीर्तिपुरस्थित क्रिकेट मैदान पानीले भरिएको छ । लगातारको वर्षाले भिजेको आउटफिल्ड खेलका लागि योग्य छैन ।

शनिबारको पहिलो खेलमा दिउँसो १२ः३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने समय तालिका छ भने दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स साँझ ४ः ३० बजे हुने तालिका छ।

एनपीएलमा वर्षाका कारण खेल हुन नसके त्यसको असर अंकतालिकामा समेत पर्नेछ। प्रतियोगितामा ‘रिजर्भ डे’को व्यवस्था छैन। खेल नतिजाविहीन भए दुवै टोलीले एक–एक अंक बाँड्ने व्यवस्था रहेको छ।

टस हुनुअघि नै खेल रद्द भए टिकट खरिद गरेका दर्शकलाई रकम फिर्ता गर्ने व्यवस्था पनि रहेको टिकटिङ साझेदारले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिसमेत देशभर साधारणतया बादल लाग्नेछ। आइतबार अपराह्नदेखि भने चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

मौसम बदली भए पनि फाटफुट मात्र बर्षा भएकोले बिहीबार दुवै खेल सम्पन्न भएका थिए। शुक्रवारको खेल स्थगन गरिएको थियो ।

Share Now