मुम्बई(भारत), ५ फागुन । नेपालले समूह चरणको अन्तिम खेलमा शानदार जित निकाल्दै यसपटकको आईसीसी टी–२० विश्वकप यात्राको सुखद् अन्त्य गरेको छ।
मंगलबार राति सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो।
आजको खेलमा स्कटल्यान्डले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। यो जितसंगै विश्वकपमा नेपालको जितको खडेरीको अन्त भएको छ । नेपालले १२ वर्षपछि विश्वकपमा पुनः जित निकालेको हो। नेपालले सन् २०१४ को आफ्नो पहिलो विश्वकप सहभागितामा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो।
आजको जितमा प्लेयर अफ द म्याच र मोष्ट भ्यालुएबल पर्सन अफ द म्याच बनेको दीपेन्द्रसिंह ऐरीको अर्थशतकको महत्वपूर्ण योगदान रह्यो । उनले २३ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५० रनको योगदान दिए । आज ओपनर कुशल र आशिफ शेखको साझेदारी पनि राम्रो जम्यो । नेपालका कुशल भूर्तेलको पहिलो विकेट ९.१ ओभरमा ७४ रन बनेको अवस्थामा गुम्यो । आशिफ शेखलाई नेपालले ११.५ओभरमा ८७ रन पुगेको अवस्थामा गुमायो । नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई १३.२ ओभरमा ९८ रन बनाएको अवस्थामा गुमायो । त्यसपछि दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले नेपालको पारी सम्हाले । विकेट गुम्न दिएनन् र नेपाललाई धैर्यतापूर्वक विजयको शिखरमा पुर्याए ।
यस अगाडि मुम्बईको वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड.मा उत्रिएको स्कटल्याण्डले नेपाली टिमलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
स्कटल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ७० रन जोडेको थियो।
स्कटल्याण्डको लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । खेलमा जर्ज मुन्सेले २७, ब्राडन म्याकमुलनले २३, रिचि बेरिड।टन र मार्क वाटले १०। १०, ट्रम ब्रुसले ५, म्याथु क्रसले ४, माइकल लिस्कले ४ र ओलिभर डेभिन्सनले १ रनको योगदान दिए ।
बलिड.मा नेपालको आजको सुरुआत राम्रो भएन । नेपालले ओपनर जर्ज मुन्सेको पहिलो विकेट नै ९.६ ओभरमा ८० रन पुगेको बेला लिन सक्यो । माइकल जोन्सको दोस्रो विकेट १५.२ ओभरका १ सय ३२ रन पुगेको बेला झर्यो । ब्राण्डन म्याकमुलेनको तेस्रो विकेट १५.४ ओभरमा १ सय ३३ रन जोडेको बेला झर्यो । रिचि बेरिटनको चौथो विकेट १६।६ ओभरमा १ सय ४५ रन लिएको बेला नेपालले लियो । नेपालले म्याथु क्रसको पाँचौ विकेट १७.३ ओभरमा १ सय ५० रन पुगेको बेला लियो । छैठौ विकेट १८.४ ओभरमा १सय ५६ रन पुगेको बेला झार्न नेपाल सफल भयो । नेपालले सातौ विकेटमा माइकल लिस्कलाई १९.४ ओभरमा मैदानबाट बाहिर पठाउन सक्यो, त्यतिवेला स्कटल्याण्डले सातौं विकेट लिइसकेको थियो ।
स्कटल्याण्डलाई रोक्न नेपालका सोमपाल कामीले ३, नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १ । १ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन । तीन ओभर बलिड. गरे पनि कुनै विकेट लिन सकेनन् ।


















