Prakash Adhikari March 5, 2026

काठमाडौं, २१ फागुन: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताउनुभएको छ ।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उहाँले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उहाँले बताउनुभयो ।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ । मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ”, उहाँले भन्नुभयो, “मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।”

 

उहाँले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गर्नुभयो । मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उहाँले जानकारी दिनुभयो ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उहाँले बताउनुभयो । साथै उहाँले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताउनुभयो ।

तर विगतका चुनावमा पाँच प्रतिशतजित मत बदर भएको देखिन्छ।

यस निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना योग्य मतदाता छन्।

त्यसैले यस पटक निर्वाचन सचेतना कार्यक्रमलाई समेत व्यापक रूपमा सञ्चालन गरिएको निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन्।

यसअघिका चुनावमा कहिले कति मत खसेको थियो

विसं २०७९: ६१.६३ प्रतिशत
विसं २०७४: ६८.६७ प्रतिशत
विसं २०७०: ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
विसं २०६४: ६१.७० (पहिलो संविधानसभा)
विसं २०५६: ६५.७९ प्रतिशत
विसं २०५१: ६१.८६ प्रतिशत
विसं २०४८: ६५.१५ प्रतिशत
स्रोत: निर्वाचन आयोग

Share Now