काठमाडौं, २१ फागुन । आज भईरहेको प्रतिनिधि सभा निर्वाचनमा देशभरका ज्येष्ठ नागरिकमा पनि ठूलो उत्साह देखिएको छ । शताब्दी आयु काटेका पुरुष तथा महिलाहरुले पनि देशमा सुशासन,विकास र समुन्नतिको लागि मतदान गरेका समाचारहरु प्राप्त भएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी १ सय ७ वर्षीय गणेशबहादुर रावतले आज मतदान गर्नुभएको छ ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो ।
मतदानपछि उहाँले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
चपलीमा १ सय ५वर्षीय खड्काले गर्नुभयो पहिलो मतदान
बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गर्नुभएको छ ।
मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।”
खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तब्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले बताउनुभयो ।
मतदान केन्द्रमा लामबद्ध मतदाताहरूले उहाँप्रति सम्मान प्रकट गर्दै धेरैले उहाँसँग फोटो खिचेर मतदानको क्षणलाई स्मरणीय बनाएका थिए ।
मेचीनगरमा १०४ बर्षीय तुलसा कोइरालाद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।
झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटारस्थित ईशानेश्वर मावि मतदान केन्द्रमा १०० वर्षकी धनसुब्बा देवी गुरुङले मतदान गर्नुभएको छ ।
त्यस्तै मोरङको क्षेत्र नम्बर ६ मा १०० वर्षका बुद्धिप्रसाद गौतमले मतदान गर्नुभएको छ। अरूको सहयोगमा मतदान केन्द्र पुग्नुभएका उहाँले आफै भोट हाल्नुभएको बीबीसी संवाददाता विक्रम निरौलाले जानकारी दिनुभएको छ ।
चितवन क्षेत्र नम्बर २ मा ९९ वर्षका आशबहादुर गुरुङले मतदान गर्नुभएको छ ।


















