काठमाडौं, २३ फागुन । जेन जी आन्दोलनको स्वामित्व लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो आन्दोलनले पुरानो सरकार विस्थापित गरी प्रतिनिधि सभा विघटन गरी सोको स्थानमा भएको नयाँ चुनावमा सुनामी नै ल्याएको छ ।
यसै क्रममा सो पार्टीका थप २० उम्मेद्वारहरुले विभिन्न निर्वाचन क्षेत्रबाट विजय प्राप्त गरेका छन् । रास्वपाले जितेका थप निर्वाचन क्षेत्र र विजयी उम्मेदवारको सूची हेर्नुहोस् ः
गुल्मी–१ मा रास्वपाका ढकाल विजयी
गुल्मी, २३ फागनुनः गुल्मी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी हुनभएको छ । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार १४ हजार ४६१ मतान्तरसहित ढकाल निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ र नेपाल कम्युनिस्ट पार्टीका शुदर्शन बरालले तीन हजार १६७ मत प्राप्त गर्नुभएको थियो । कुल एक लाख २२ हजार १८६ मतदाता रहेको उक्त क्षेत्रमा ६४ हजार ८२२ मत खसेकोमा ६२ हजार ८८० मत सदर भएको थियो ।
नवनिर्वाचित ढकाललाई मुख्य निर्वाचन अधिकृत पौडेलले विजय भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रमाणपत्र बुझेपछि समर्थक र कार्यकर्तालाई सम्बोधन गर्दै ढकालले रास्वपाको सरकार बनेपछि कार्की आयोगको प्रतिवेदनका दोषीलाई कारबाही गरिने बताउनुभयो ।
उहाँले देशमा भष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । गुल्मीको सत्यवती गाउँपालिका–६ मा २०४८ साल वैशाख २८ गते जन्मिनुभएका ढकाल पेसाले इन्जिनियर हुनुहुन्छ ।
उहाँले विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
दाङ-३ मा रास्वपाका सुवेदी विजयी
दाङ, २३ फागुनः दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी हुनुभएको छ
निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेकपा(एमाले)का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए ।
कैलाली-३ मा रास्वपाका जोशी निर्वाचित
घोडाघोडी (कैलाली), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगतप्रसाद जोशी निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले छ हजार ७४७, नेकपा एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गर्नुभएको छ । कुल प्राप्त मतमध्ये तीन हजार ३१६ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।
रौतहट-४ मा रास्वपाका पौडेल विजयी
चन्द्रपुर(रौतहट): २३ फागुनः रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणामअनुसार पौडेलले ३६ हजार ८७६ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।
तनहुँ-२ मा पनि रास्वपाका न्यौपाने विजयी
दमौली (तनहुँ), २३ फागुन : तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी हुनुभएको छ ।
आज साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार छ सय ६८ र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ हजार १८६ मत खसेका थिए । यहाँ क्षेत्र नं १ बाट रास्वपाका उपसभापति डा स्वर्णिम वाग्ले निर्वाचित भइसक्नुभएको छ ।
नवलपुर–२ मा रास्वपाका खनाल विजयी
त्रिवेणी (नवलपरासी), २३ फागुन: नवलपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिस खनाल ४१ हजार ३४७ मतसहित विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मत अन्तरले पाराजित गर्नुभयो । महतले १५ हजार ७५५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांगे्रसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा ७९ हजार ८०२ मत खसेको थियो ।
सर्लाही–१ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित
मलङ्गवा (सर्लाही), २३ फागुन : सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार भण्डारी ३६ हजार ३१० मतान्तर अर्थात् ४४ हजार १८१ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१ प्राप्त गर्नुभएको छ ।
यहाँ नेकपा (एमाले) का मनोजकुमार देवकोटाले छ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ ।
यहाँ ७९ हजार २०७ मत खसेको थियो ।
बारा-१ मा रास्वपाका धिताल विजयी
बारा (कलैया), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिताल निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाका क्रममा पाँच हजार २९६ मत बदर भएको थियो ।
सर्लाही–२ मा रास्वपाका महतो विजयी
मलङ्गवा (सर्लाही), २३ फागुन: सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो ४२ हजार ५१२ मतसहित विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गर्नुभएको छ ।
यहाँ, नेपाली कांग्रेसका डा सरोज कुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमद्ले दुई हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले दुई हजार २२७ र नेकपा (एमाले) का नागेश्वर साहले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ कूल मतदाता रहेकामा ७७ हजार ७८९ मत खसेका थिए ।
—
सुर्खेत–२ मा रास्वपाका सापकोटा विजयी
कर्णाली, २३ फागुन ः सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशकुमार सापकोटा विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार सापकोटा १४ हजार ४५४ मतान्तर अर्थात् ३० हजार ८२६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार कुलमणि देवकोटाले १३ हजार १५५ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले चार हजार ५८७ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रम विभिन्न १७ दलका उम्मेदवार चुनावी मैदानमा थिए । कुल एक लाख २६ हजार ४१ मतदाता रहेको यस क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो । जसमा तीन हजार २७१ मत बदर भएका छन् ।
सिन्धुली-१ र २ मा रास्वपाका उम्मेदवार विजयी
कमलामाई (सिन्धुली), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं १ र २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।
सिन्धुली क्षेत्र नं १ रास्वपाका धनेन्द्र कार्कीले १६ हजार २६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको क्षेत्र नं १ की निर्वाचन अधिकृत निमा घिमिरेले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ६६८, नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बरालले १५ हजार दुई, नेपाली कम्युनिष्ट पार्टीका डेकेन्द्रप्रसाद सुवेदीले चार हजार ६५४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का रामनारायण अधिकारीले ४९८ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली-१ मा कुल खसेको ५९ हजार ३०२ मतमध्ये ५६ हजार २० मत सदर भएको र तीन हजार २८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिन्धुली-२ मा गजुरेल विजयी
सिन्धुली क्षेत्र नं २ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गर्नुभयो ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजजङ्ग थापाले ११ हजार ६०६, नेपाली कांग्रेसकी सुशीला थिङले छ हजार ७६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कमल राज विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा कुल ५६ हजार ८०३ खसेकामा तीन हजार १४२ मत बदर भएको छ ।
––डडेल्धुरामा रास्वपाका जोशी निर्वाचित
अमरगढी (डडेल्धुरा), २३ फागुन : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गर्नुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा जोशी सात हजार १० मत अन्तरले विजयी हुनुभएको छ । उहाँले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देही-१ मा रास्वपाका लम्साल विजयी
लुम्बिनी, २३ फागुन: रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका प्रज्वल बोहराले आठ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए ।
रुपन्देही–५ मा रास्वपाका खान विजयी
लुम्बिनी, २३ फागुन : रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।
उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।
ललितपुर-३ बाट रास्वपाकी डा कार्की निर्वाचित
पाटन (ललितपुर), २३ फागुनः ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा तोसिमा कार्की निर्वाचित हुनुभएको छ । उहाँ ४३ हजार ९६ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन पुनाराम खनालले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले छ हजार २२ मत प्राप्त गर्नुभयो ।
एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर–३ मा ६९ हजार ३९१ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
कञ्चनपुर-२ मा रास्वपाका बोहरा विजयी
कञ्चनपुर, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत ल्याउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले छ हजार ४१८ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले छ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तीर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले आज उम्मेदवार बोहरालाई प्रमाण पत्र हस्तान्तरण गर्दै विजयी भएकामा शुभकामना व्यक्त गर्नुभयो ।
सोही क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक खत्रीलगायतले बोहरालाई बधाई तथा शुभकामना दिनुभयो ।
प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित बोहराले जनताको आशा र विश्वासमा खरो उत्रिने र जनहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख नौ हजार ५७४ रहेकामा ६४ हजार ८८१ मत खसेको थियो ।
सप्तरी-४ मा रास्वपाका साह विजयी
राजविराज (सप्तरी), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले अन्तिम मतपरिणाम अनुसार रास्वपाका साहले ३६ हजार ४१२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्नुभयो ।
जनता समाजवादी पार्टी, नेपालका बबी सिंहले १० हजार २८० मत ल्याउनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)की रुवीकुमारी कर्णले एक हजार ७०९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
—
मोरङ—५ मा रास्वपाकी झा निर्वाचित
मोरङ, २३ फागुनः मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशाकुमारी झा निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ५ का अधिकृत मदनप्रसाद पराजुलीका अनुसार पछिल्लो अन्तिम मतगणनाको परिणामअनुसार उहाँ ३० हजार ४३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यहाँ नेपाली कांग्रेसका फुलकुमार लालवानीले नौ हजार ४१५, जनता समाजवादी पार्टी (जसपा), नेपालका राजकुमार यादवले आठ हजार ७४७, नेपाली कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले आठ हजार ६१४, नेकपा (एमाले) का मनोजकुमार अग्रवालले छ हजार ९४५, राष्ट्रिय ऊर्जाशिल पार्टी नेपालका योगेन्द्र मण्डलले चार हजार १९९ र राप्रपाका कुमोद रायले ५४९ मत प्राप्त गर्नुभएको थियो ।
यस निर्वाचन क्षेत्रमा एक लाख १० हजार १७७ मतदाता भएकामा ७८ हजार ५२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जना प्रत्यासी हुनुहुन्थ्यो ।
कास्की १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ विजयी
कास्की, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ‘गनेस’ ३९ हजार ८८३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार ४७९ मत प्राप्त गर्नुभयो ।