Prakash Adhikari September 16, 2018

काठमाडौं, ३१ भदौ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानवीन समितिले अनुसन्धानमा संलग्न रहेर दसी प्रमाण मास्ने र  पीडित पक्षलाई झन पीडा दिंदै बास्तविक हत्यारा उम्काउन सघाएको आरोपमा केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरी अधिकारी निलम्बन गर्न सिफारीश गरेको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीद्धारा शनिबार साँझ जारी विज्ञप्तिमा उनीहरुलाई आजैको मितिबाट निलम्बन गर्न सिफारीश गरिएको छ ।

घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।

डिएसपी जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत तत्कालिन डिएसपी ज्ञान बहादुर सेठीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बनको लागि सिफारीस गरिएको गृह मन्त्रालयले जनाएको छ । घट्नाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षकहरु जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक (असई) रामसिंह धामी निलम्बनमा परेका हुन् ।

 

मन्त्रालयका सह–सचिव हरि प्रसाद मैनालीको नेतृत्वमा गठीत उच्चस्तरीय छानविन समितीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा निलम्बनमा परेका अनुसन्धान अधिकृतहरुमाथि समेत आन्तरिक अनुसन्धान हुने भएको छ ।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । सो आन्दोलनका क्रममा प्रहरी र प्रशासनको उल्टो दमनले १३ बर्षीय बालक शनि खुनाको गोली लागेर अकाल मृत्यु भैसकेको छ ।

यसअघि तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई पनि गृह मन्त्रालयले निलम्बित गरिसकेको छ ।

उनको ठाँउमा एसपी कुवेरबहादुर कठायतलाई पठाइएको छ ।

Share Now

Leave a comment.