टेक्सास(संयुुक्त राज्य अमेरिका), ३० भदौ । गैरआवासीय नेपाली संगठन (एनआरएनएं)को सहयोगमा अमेरिका भ्रमणमा रहनुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई शनिवार टेक्ससमा आयोजित कार्यक्रममा कालो झण्डा देखाइएको छ ।
डा. भट्टराई १७ हजार भन्दा बढी नेपाली नागरिकको हत्या भएको ‘माओवादी जनयुद्धका योजनाकार भएको आरोप लगाउदै उनीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले बाबुराम भट्टराईलाई ‘जनहत्याका योजनाकार’ भन्दै अमेरिका भ्रमण छोट्याएर फर्कन समेत आग्रह गरेका छन् ।
माओवादी जनयुद्धका कारण अमेरिकामा आएर शरण लिने नेपालीको सङ्ख्या करिब ३० हजार रहेको छ । सबै भन्दा बढी माओवादी पीडित क्यालिफोर्निया , न्यु योर्क र टेक्ससमा रहेका छन् ।
तर विरोधबीच पनि नेपाली समुदायसँगको उहाँको अन्तरक्रिया कार्यक्रम भने सम्पन्न भएको छ ।
डा. भट्टराईको स्वागत र विरोधले उहाँलाई आमन्त्रण गर्ने गैर आवासीय नेपाली संगठन अमेरिका दुई भागमा विभाजित देखिएको छ ।
सयौँ नेपालीको हत्या हिंसाका प्रमुख योजनाकार भन्दै आतङ्ककारीको सूचीमा अमेरिकाले लामो समय राखेका डा. बाबुराम भट्टराईलाई न्यानो स्वागत गरिनु हुन्न भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेहरूको सङ्ख्या बढ्दो छ ।
तर उनको पक्षमा रहेकाहरुले जनयुद्ध इतिहास भैसकेको र डा. भट्टराई यसपटक कांग्रेसको सहयोगमा निर्वाचन समेत जितेको,पुरानो पार्टी परित्याग गरेको र विज्ञान तथा प्रविधिको सहयोगले नेपालीको जीवनस्तर सुधार्न र देशको विकास गर्ने कार्यमा लागेकोले उहाँलाई सही सुझाव दिन र उहाँको कुरा सुन्न अमेरिकामा निर्वाध रुपमा कार्यक्रम गर्नदिन र ब्यापक सहभागिता जनाउन दिनुपर्छ भन्ने तर्क राख्दै आएका छन् ।