Prakash Adhikari September 16, 2018

काठमाडौं, ३१ भदौ । कारोबार आर्थिक दैनिकले आफ्नो प्रकाशनको एक दशक पुगेको अवसरमा आयोजना गरेको आर्थिक सम्मेलनमा १२ विधाका उत्कृष्ट उद्यमी र उद्यमलाई पुरस्कृत गरेको छ ।

गत शुक्रबार राजधानीको होटल याक एण्ड यतिमा सम्पन्न भएको सो सम्मेलनमा कारोबार महिला उद्यमीबाट उद्योगपति म्यागी शाह पुरस्कृत हुनुभएको छ । यो विधामा उहाँका अतिरिक्त लक्ष्मी शर्मा, रामकली खड्का र सुनिता नेमाफुकी फाइनलिष्टमा पुग्नुभएको थियो ।

त्यस्तै कारोबार वेष्ट लाईफ इन्स्योरेन्स अफ द इअरको अवार्ड नेपाल लाईफ इन्स्योरेन्सले पाएको छ । यो विधामा नेपाल लाईफका अतिरिक्त लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ र एशियन लाईफ अन्तिम पाँचमा पुगेका थिए ।

त्यसैगरि कारोबार उत्कृष्ट निर्जीवन बीमा कम्पनीको अवार्ड शिखर इन्स्योरेन्सले हात पारेको छ । यस विधामा शिखरका अलवा सगरमाथा,लुम्बिनी,सिद्धार्थ र प्रुडेन्सियल बीमा कम्पनी अन्तिम पाँचमा पुगेका थिए ।

त्यस्तै बर्षको सर्वाधिक करदातामा सिद्धार्थ राणा सम्मानित हुनुभएको छ ।

वर्षका युवा उद्यमीको सम्मान युवा उद्यमी विश्वास ढकालले पाउनुभएको छ । यो विधामा उहाँका अतिरिक्त आशिष अधिकारी,पवित्र गौतम, विशालपुरुष ढकाल र प्रशंसा।प्रियंका बस्नेत अन्तिम पाँचमा पुग्नुभएको थियो ।

त्यस्तै वेष्ट इनिसिएटिभ प्रोजेक्ट डेभलपमेण्टको उपाधी अरुण तेस्रोले पाएको छ ।यो विधामा अपर कर्णाली जलविद्युत आयोजना, धरान वेष्ट प्रोजेक्ट, केमिकल फर्टिलाईजर र वेष्ट टु इनर्जि आयोजना अन्तिम चरणमा पुगेका थिए ।

त्यस्तै सर्वोतम प्रत्यक्ष वैदेशिक लगानीका आयोजनाको सम्मान होड.सी सिमेण्टले पाएको छ । यो विधामा सियाडजिन सिमेण्ट, होटल टाइगर प्यालेस, फेयरफिल्ड म्यारियोट ठमेल र अपर कालिगण्डकी जलविद्युत आयोजना अन्तिम पाँचमा पुगेका थिए ।

त्यस्तै यस बर्षको कारोबार वेष्ट बैंक अफ द इयरको सम्मान नबिल बैंकले पाएको छ । यो विधामा नविलका अतिरिक्त कृषि विकास बैंक, एभरेष्ट बैक, हिमालयन बैंक, र ग्लोबल आईएमई बैंक अन्तिम चरणमा पुगेका थिए ।

त्यसैगरि यो बर्षको कारोबार बेष्ट नेपाली ब्राण्ड अफ द इयरको सम्मान गोल्डस्टारले प्राप्त गरेको छ । यस विधामा आईएमई रिमिट, हिमालय जाभा,शेर्पा एड्भेञ्चर गियर र वाईवाई अन्तिम पाँचमा पुगेका थिए ।

यस्तै इमर्जिड. ब्राण्ड अफ द इयरको सम्मान ई सेवाले पाएको छ । यसमा चन्द्रागिरी हिल्स,डिस होम,सिद्धार्थ होटल र टोटल फाइनलिष्टमा पुगेका थिए ।

कारोबारले आयोजना गरेको कारोबार एक्सिलेन्स अवार्डमा बेष्ट माइग्रेण्ट इन्टरप्रेनरको सम्मान रामेश्वर शाहले पाउनुभएको छ । यस विधामा किरणभक्त जोशी, सीपी शर्मा,पुष्पराज अधिकारी तथा लछिन।अमृत गुरुड. फाइनलिष्टमा पर्नुभएको थियो ।

त्यस्तै कारोबारको वेष्ट बिजनेश पर्सन अफ द इयरबाट पद्म ज्योति सम्मानित हुनुभएको छ । यो विधामा उहाँका अतिरिक्त शेखर गोल्छा, सूरज बैद्य, अम्बिका श्रेष्ठ, विरेन्द्र बस्नेत अन्तिम चरणमा पुग्नुभएको थियो ।

विभिन्न विधाका विजेताहरुलाई उद्यमी अम्बिका श्रेष्ठ, पूर्व प्रधानमन्त्री प्रचण्ड, योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र उपेन्द्र महतोले अवार्ड प्रदान गरी कार्यक्रमलाई सम्बोधन पनि गर्नुभएको थियो ।

सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको राजनीतिक स्थिरताको वातावरण विकासको लागि सदुपयोग गर्न नसके यस्तो अबसर पुन प्राप्त गर्न कठिन हुने बताउनुभयो । उहाँले लगानीको पहिलो शर्त आन्तरिक लगानीको बातावरणको सिर्जना भएको बताउदै आन्तरिक लगानी बढेमामात्र बाह्य लगानी आकर्षित हुने भएकोले सो अनुकूलको वातावरण बनाउन सरकार प्रयत्नशील गरेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन प्रधानमनत्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उहाँले पनि समय खेर नफाली विकासको मार्ग लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । “नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । “नेपालमा अहिले लगानीको वातावरण बनेको छ । विदेशी लगानीकर्ताहरुलाई पनि म ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उद्घाटन शत्रमा अर्थमन्त्री डा.युवराज खतिवडा र पूर्व अर्थमन्त्री डा. रामशरण महतले पनि संबोधन गर्नुभएको थियो ।

Share Now

Leave a comment.