लखनऊ(भारत),३१ भदौ ।युथ १९ सिरिज अन्तर्गत नेपालले अफगानिस्तान माथि २५ रनको जित निकालेको छ ।
भारतका दुवै टिमसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग सान्तोना जित निकालेको हो ।
लखनउमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ३ बलमा १ सय ८९ रनमा अलआउट भयो ।
नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेको थिएन् । लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरीसकेको नेपालले सात रन बनाउदा तीन विकेट खेर फालेको थियो ।
सुरुवाती तीन खेलाडी ७ रनमा आउट भएका थिए । आज आसिफ शेख तीन रनमा आउट हुँदा अरुण ऐरीले खाता खोल्न पाएनन्, त्रितराज दास ४ रनमा पेभेलियन फर्किए ।
त्यसपछि सन्दिप जोरा २८ रनमा आउट हुदा नेपालको स्कोर ५४ रनमा थियो ।
नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए ।
नेपालका कुनैपनि खेलाडी बीच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो ।
नेपालको विकेट झर्नेक्रम यतिमा रोकियन । एक सय १६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र नौ रनमा पेभेलियन फर्किए ।
तर आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए ।
तर रासिद खान २४ रनमा आउट हुँदा नेपालले आठौ विकेट गुमायो ।
त्यसलगत्तै किशोर महतो पनि पेभेलियन फर्किएपछि नेपालले नबौ विकेट खर फाल्यो ।
नेपालकालागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए । १९० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रनमा समेटिएको थियो ।
इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाउँदा रियाज हसनले ३८ रन बनाएका थिए । नेपालका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए ।
१० ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै २९ रन खर्चिएका थिए । रासिद खान र कमलसिंह ऐरीले २–२ विकेट लिँदा पवन सर्राफले एक विकेट हात पारे ।


















