Prakash Adhikari September 16, 2018

काठमाडौं,३१ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त उपर भएको यौनदुराचार र हत्याको छानबिन गर्न नेपाल प्रहरीले नयाँ समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार उक्त घटनाको छानबिन गर्न डीआइजी धिरु बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार समितिमा ९ जना सदस्य रहेका छन्।

समितिका अन्य सदस्यमा एसएसपी उत्तम सुवेदी, निरजबहादुर शाही, डिएसपी रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी रहेका छन्। बस्नेत प्रहरी अतिरिक्त महानिरीक्षक बढुवामा सिफारिस भएका छन्।

यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा उक्त घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिलाई पुनर्संरचना गर्दै डिआइजी बस्नेतलाई नेतृत्वमा ल्याइएको हो ।

यो समितिले निर्मलाउपर भएको यौनदूराचार र हत्याको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकारीहरूमाथि पनि छानबिन र अनुसन्धान गर्ने बताइएको छ।

गृहमन्त्रालयले उक्त घटनाको छानबिन गर्न सहसचिव हरि न्यौपानेको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ। जसले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ।

Share Now

Leave a comment.