काठमाडौं, २६ बैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।
घोषित एक दिवसीय राष्ट्रिय टोलीमा इशान पाण्डेले पनि मौका पाएका छन्। उनले टी २० राष्ट्रिय टोलीबाट भने नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
पछिल्लो टोलीबाट यो पटक मात्र एक परिवर्तन भएको छ। जहाँ बसिर अहमदको स्थानमा इशानलाई मौका दिइएको छ। रोहित पौडेलको कप्तानीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले निरन्तरता पाएका छन्।
टोलीका तथा अन्य खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादब, अर्जुन कुमाल र करण केसी छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने आइसीसी पुरुष विश्व कप लिग टु अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डको सिरिजका लागि क्यानले शनिवार टोलीको घोषणा गरेको हो।
यसअघिको ओमान, युएई सम्मिलित सिरजमा नेपालले ३ खेलमा जित निकालेको थियो।
लिग टु मा नेपाल १८ अंक सहित सातौं स्थानमा छ। अमेरिका ३६ अंक सहित पहिलो र स्कटल्याण्ड ३४ अंक सहित दोस्रो स्थानमा छ।


















