- शरद केसी
बीबीसी न्यूज नेपाली
काठमाडौं, ५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदत्याग गराउन उहाँसँग निकट मानिने उपाध्यक्ष विष्णु पौडेल पनि लागेको चर्चा चलिरहेको छ।
पौडेलले सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन। बीबीसीसँगको सङ्क्षिप्त कुराकानीमा पनि उहाँ त्यसबारे खुल्न चाहनु भएन। “यो विषयमा म तपाईँसँग पछि कुरा गर्छु नि”, उहाँले भन्नुभयो।
पार्टी नेतृत्व परिवर्तनका निम्ति पौडेल र महासचिव शङ्कर पोखरेलबीच सहमति भइसकेको खबर सञ्चारमाध्यममा आएको छ।
सार्वजनिक रूपमा जोडदार ढङ्गले ओली र तात्कालिक सरकारको प्रतिरक्षा गर्दै आएका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पनि अब ओलीलाई पार्टी नेतृत्वमा राखिरहन नसक्ने निष्कर्षमा पुगेको बताइएको छ।
पोखराको एउटा आन्तरिक कार्यक्रममा उहाँले मुख खोलेको भन्नेबारे बीबीसीको जिज्ञासामा केही दिनअघि नेता गुरुङले आफूले सार्वजनिक रूपमा त्यस्तो टिप्पणी नगरेको बताउँदै भन्नुभएको थियो, “समयको माग हो भन्ने लागिरहेको छ। तर अनुहार मात्र फेरेर केही हुनेवाला छैन, सङ्गठनको स्वरूपदेखि हाम्रो कार्यशैली लगायतसम्म समग्र विषय छन्।”
महाधिवेशनमा ती तीनै नेताहरू ओलीका सारथि हुनुहुन्थ्यो। ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे लगायतका नेताहरूले महाधिवेशनमा छुट्टै प्यानल बनाएरै ओलीलाई रोक्ने प्रयास गर्नुभएको थियो।
पार्टी सदस्यता रोकिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीले नेतृत्व छाड्नुपर्ने धारणा खुला रूपमै व्यक्त गर्नुभएको थियो ।
एमालेभित्र के हुँदै छ?
आफ्नै विश्वासपात्रहरूले छाड्ने सङ्केत पाएपछि अध्यक्ष ओली पार्टीमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ।
“औपचारिक एजेन्डा खुला भएको छैन, अहिले नै केही भन्न सक्दिनँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो, “प्रारम्भिक छलफल पनि भएको छैन।”
उपमहासचिव लेखराज भट्टले पनि त्यसबारे कुनै छलफल नभएको बताउनुभयो।
“अहिले त अध्यक्षसँग मेरो केही कुराकानी भएको छैन, बादल (रामबहादुर थापा) जीसँग भएको छ कि”, नेता भट्टको भनाइ छ।
बादलसहित उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसहितको सहभागितामा मदन–आश्रित स्मृति दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएपछि ठूलो तरङ्ग उत्पन्न भएको छ।
भण्डारीसँग निकट मानिने नेता कर्ण थापाका भनाइमा एमालेमा दुई थरी धारणा जोडदार रूपमा आइरहेका छन्।
एउटा, उहाँले जुन सुकै हालतमा छोड्नुपर्छ।
अर्को, उहाँलाई सहमत गराएर छोडाउनुपर्छ।
“उहाँको विकल्प छैन भन्ने एउटा अत्यन्त सानो समूह पनि छ,ू थापाले सुनाउनुभयो, ूसंस्थागत ढङ्गले पनि प्रक्रिया अघि बढाउने एक खालको सहमति छ।”
ओलीले चौतर्फी प्रतिकूलता बढेपछि आफ्नो बहिर्गमन तत्काललाई रोक्न भण्डारीलाई अघि सार्न खोजेको हुन सक्ने विश्लेषण गर्नेहरू पनि छन्।
भण्डारीसँग निकट एक नेता एमालेले प्रमुख अतिथि बनाएर एउटा सन्देश दिन खोजेको ठान्छन्।
“हुन न अघिल्लो वर्ष पनि बोलाइएको थियो, तर उहाँ बोल्नुभएन। यस पटक प्रमुख अतिथि बनाइयो”, नाम खुलाउन नचाहने उहाँले भन्नुभयो, “केही महत्त्व त राख्छ जस्तो लाग्छ, तर यही हुन्छ भन्ने निचोडमा पुग्ने बेला भएको छैन।”
संस्थापनइतर खेमाका नेताहरू चाहिँ भण्डारीलाई सदस्य दिने वा नेतृत्वको निम्ति तयार गर्ने विषयले ओलीको बहिर्गमनको माग नरोकिने बताउनुहुन्छ।
“विद्या भण्डारीको सदस्यता वा उहाँ नेतृत्वमा आउने कि नआउने भन्ने फरक विषय हो,ू नेता कर्ण थापाले भन्नुभयो, ूनेतृत्व परिवर्तनको विषयलाई त्यससँग जोडेर हेर्न मिल्दैन।”
उहाँका अनुसार अहिलेसम्म भावी नेतृत्वबारे छलफल भएको छैन।
“पहिलो कुरा त ऐतिहासिक असफलता र सर्मनाक अवस्थाको जिम्मेवारी लिँदै उहाँले मुख्य नेताको हैसियतले निकास दिनुपर्छ”, थापा भन्नुहुन्छ, “कुनै पनि बहानामा उहाँको बहिर्गमन रोकिँदैन।”
सदस्यता कायम गर्ने निर्णय
एमालेको केन्द्रीय सचिवालयको बैठकले भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताउनुभएको छ।
विगतमा उहाँको पार्टी सदस्यता एमालेले रोकेको थियो। तर सोमवारको निर्णयले उहाँलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ।
उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भन्नुभयो, “आज पार्टीको आठौँ सचिवालयको बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता कायम गर्ने निर्णय भएको छ।”
नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोक्नुभएको थियो। तर अहिले भने उहाँ पूर्वराष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ।
प्रचण्डको सङ्केतसँग एमालेको साइनो
कतिपयले ओली आफूमाथिको सम्भावित सङ्कट टार्न विद्या भण्डारीसँगै प्रचण्डसँगको सहकार्यको मुद्दा पनि अघि सार्न सक्ने आकलन गर्ने गरेको पाइन्छ।
केही साताअघि अस्पताल भर्ना भएका ओलीसँग प्रचण्डले भेट गरेको र त्यसै बेला सहकार्यको सन्दर्भ पनि चलेको समाचार आएको थियो।
पूर्वराष्ट्रपति भण्डारीले पनि ओलीलाई भेटनुभएको थियो। डिस्चार्ज भएपछि भण्डारी र ओलीको भेटवार्ता भएको बताइएको छ।
प्रचण्डमाथि पनि नेतृत्व छाड्न दबाव बढ्दो छ। उहाँले माधव नेपालको दलसँग एकीकरण गरेर उस बेला त्यो सम्भावना पन्छाउनुभएको थियो।
पछिल्ला दिनहरूमा प्रचण्डले वामपन्थी एकता अनिवार्य भइसकेको अभिव्यक्ति दोहोर्याइरहेका छन्। तर कतिपयले त्यसलाई ‘नेतृत्व परिवर्तनको दबाव छल्ने दाउ’ भनेर अर्थ्याइरहेको पाइन्छ।
“अहिले पार्टी र जनताबाट अलगथलग परेकाहरू फेरि एकताका नाममा कार्यकर्ता र जनतालाई भ्रमित गर्न खोजिरहेका छन्”, कुनै बेला प्रचण्डसँग निकट मानिने नेता हरिबोल गजुरेलले फेसबुकमा लेख्नुभएको छ।
“वास्तविक समाधान भनेको असफल नेतृत्वले आत्मालोचना र प्रायश्चितको भावसहित राजीनामा गर्नु तथा सबै पार्टीभित्रका सापेक्षिक क्रान्तिकारी शक्तिहरूले बृहत् वाम ध्रुवीकरण र सिद्धान्तनिष्ठ पार्टी एकताका लागि अघि बढ्नु हो।”
एमाले नेता कर्ण थापाले पनि माथिका नेताहरूको टाउको मिलाएर गरिने एकता विगतमा विफल भइसकेको र आफ्नो गल्ती कमजोरी लुकाउन त्यसको आड लिन सक्ने अवस्था अब नरहेको बताउनुभयो।
“अर्थहीन वामपन्थी एकताको कुनै काम छैन, त्यसको निम्ति कोही तयार होलान् जस्तो पनि लाग्दैन”, थापा भन्नुुहुन्छ, “असफल विधिको प्रयोग काम लाग्दैन।”








