Prakash Adhikari May 24, 2026
  • निरञ्जन राजवंशी
    बीबीसी न्यूज नेपाली

काठमाडौं, १० जेठ । विश्व फुटबल महासङ्घ फिफाका प्रत्येक सदस्य राष्ट्र फुटबलको महाकुम्भ पनि भनिने ‘फुटबल विश्वकप’ मा पुग्ने प्रयास गर्छन्।

नेपालले पनि यस्तो प्रयास गरेको ४० वर्ष भइसक्यो। तर स्पष्ट छ, विश्वकपको अन्तिम चरणमा पुग्नु जुन कुनै राष्ट्रको लागि सहज यात्रा होइन।

यसको लागि फिफाले बनाएको चरण चरणको कठिन छनोट यात्रा पार गर्नुपर्छ। त्यो पनि महादेश अनुसारको फरक फरक कोटा र नियम अनुसार।

नेपालले सन् १९८६ को विश्वकपबाट छनोट खेल्न थालेको हो। यसबीच ९ पटक छनोट चरणमा प्रतिस्पर्धा गर्दा नेपालले एसियाली छनोटको दोस्रो चरणसम्म पुग्नु उपलब्धि बनेको देखिन्छ।

नेपालले पछिल्लो ४ दशकको छनोट यात्रामा थुप्रै उतारचढाव पार गर्‍यो। यसपालिको फिफा विश्वकप २०२६ पनि त्यस्तै उतारचढावपूर्ण र बिर्सन लायक देखिएको छ।

नेपालको यसपालिको छनोट यात्रा प्रतिस्पर्धाभन्दा विवाद, प्रभावहीन नतिजा र घरेलु मैदानमा खेल्न नपाउनुको पीडाको भुमरीमा अलमलिएको देखिएको छ।

छनोटमा नेपालको प्रदर्शन कस्तो ?

नेपालले २०८० असोज २५ बाट छनोट यात्राको थालनी गरेको हो र दोस्रो चरणसम्मको यात्रा तय गर्‍यो। यसबीच नेपालले ८ महिना समय लगाएर खेल्दै छनोट यात्राबाट बाहिरियो।

फिफाको नियम अनुसार एसियाको तल्लो वरीयतामा रहेको राष्ट्रले मुख्य ‘ड्र’ मा पुग्नु अगाडि एसियाली छनोटको ‘प्ले-अफ’ खेल्नुपर्थ्यो। ‘होम एन्ड अवे’ को स्वरूपमा खेल्ने ‘प्ले अफ’ मा नेपालको दक्षिण पूर्वी एसियाली प्रतिद्वन्द्वी लाओससँग खेल्यो।

२०८० असोज २५ मा दशरथ रङ्गशालामा नेपालले ‘होम म्याच’ भयो। उक्त खेल १-१ को बराबरीमा टुङ्गियो। नेपालबाट अञ्जन विष्टले गोल गरे। त्यसको अर्को हप्ता लाओसमा भएको ‘अवे म्याच’ मा भने मनिष डाँगीको गोलको मदतले नेपाल १-० ले विजयी भयो।

समग्रमा २-१ को नतिजा सहित नेपाल दोस्रो चरणमा प्रवेश गर्‍यो।

दोस्रो चरणमा पुगेका एसियाका ३६ राष्ट्रमा नेपाल समूह ‘एच’ मा पर्‍यो । प्रतिद्वन्द्वीका रूपमा युनाइटेड अरब एमिरेट्स, बहराइन र यमन थिए।

कुनै समय दक्षिण कोरियालाई बराबरीमा रोकेको वा मकाउविरुद्ध ह्याट्रिकसहितको जितको इतिहास रचेको नेपाली टोलीको प्रदर्शन दोस्रो चरणमा भने फिका फिका रह्यो।तर त्यसमा खेलाडीहरूको प्रदर्शन मात्र जिम्मेवार थिएन। फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन्, ” आन्तरिक विवाद, खेलाडीहरूको अस्थिरता, घरेलु मैदानमा खेल्न नपाउनु जस्ता कारण खेलाडीहरूले खुलेर प्रदर्शन गर्न सकेनन्।”

‘होम एन्ड अवे’ गरी तीन देश सँग खेलेको ६ वटा खेलमा नेपाल ५ खेलमा पराजित हुन पुग्यो।

नेपालले यूएई सँग ४-०, ४-०, बहराइनसँग ५-०, ३-० तथा यमनसँग २-० र २-२ को नतिजा निकाल्यो।

यी निरस ८ महिनाको अवधिमा यमनसँगको बराबरी नेपालको लागि सान्त्वना बन्यो। टोलीको तर्फबाट सञ्जीव विष्ट र जिलेस्पी जङ्ग कार्कीले गोल गरेका थिए।

होम म्याच खेल्न नपाउनुको पीडा

नेपालले ‘प्ले अफ’मा लाओससँगको खेल तथा यमनसँगको एक खेल काठमाण्डूको दशरथ रङ्गशालामा खेल्यो।

बाँकी खेल भने खेल्न पाएन।

किनकि एएफसीले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षा व्यवस्था अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै अयोग्य ठहर्‍याएको थियो।

दुई खेल सञ्चालन भइसकेको रङ्गशाला एकाएक अयोग्य हुनु अनौठो विषय थियो। तर त्यसमा एएफसीले खोजेको सुधारका विषयमा एन्फा र राखेपबीचको असमझदारी प्रमुख कारण देखिएको थियो।

नेपाल र बहराइनबीचको खेल २०८० चैत ८ गते दशरथ रङ्गशालामा हुने तय थियो । तर एएफसीको रिपोर्ट पछि बहराइनले दुवै खेल आफ्नै मैदानमा खेल्ने मौका पायो।

त्यति बेला कतिपयले एन्फाले नै घरेलु मैदानमा खेलाउन नचाहेको आरोप लगाएका थिए। ‘होम म्याच’ आफ्नै देशमा नभएपछि तटस्थ मैदानमा खेलाउनुपर्नेमा नेपालले त्यसो पनि गर्न सकेन।

एन्फाका प्रवक्ता सुरेश शाहले त्यति बेला भनेका थिए, ” हामीले भुटान, साउदी अरेबिया, मलेसिया र बहराइन गरी चार वटा ठाउँमध्ये एकमा प्रस्ताव गरेका थियौँ। तर एएफसीले ‘होम एन्ड अबे’ दुवै खेल नै बहराइनमै खेल्ने अनुमति दिएको हो। ”

यो विषयमा खेलकुद वृत्तमा हङ्गामा नै भयो। संसद्मा समेत यो विषयमा कुरा उठ्यो।

बहराइन सँगको खेलमा त नेपाल चुक्यो। तर त्यसको दुई महिना पछि २०८१ जेठ २४ गते युएईसँग खेल्ने होम म्याच पनि एन्फाले काठमान्डुमा आयोजना गर्न सकेन।

कारण रङ्गशालाको मर्मत गर्न नेपाल पुनः चुकेको थियो।

यो विषयमा राखेप र एन्फा पदाधिकारीबीच आरोप प्रत्यारोप नै भयो। दुवैले एक अर्काले सहयोग नगरेको आरोप लगाए।

राखेपका तत्कालीन सदस्य सचिव टङ्कलाल घिसिङले राखेपलाई एन्फाले खेल बारे कुनै जानकारी नै नदिएको बताए। उनले भने, “एन्फाले प्रतियोगिता यति बेला छ र त्यस निम्ति यी यी विषयहरू पूरा गर्नुपर्छ भन्ने जानकारी समेत गराएन। ”

एन्फा पदाधिकारीहरूले भने राखेपले जानी जानी उपेक्षा गरेको बताए।

दशरथ रङ्गशालामा हुन नसकेपछि खेल साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद बिन फाहद स्टेडियममा भएको थियो।

घरेलु भूमिमा घरेलु दर्शकमाझ खेल्दा सकारात्मक नतिजाको सम्भावना जति हुन्छ, त्यो ‘अवे म्याच’ मा नहुने मानिन्छ। यो विश्वव्यापी मान्यताको फाइदा नेपाली खेलाडीहरूले उठाउन पाएनन्।

समग्रमा फिफा विश्वकप २०२६ को नेपालको छनोट यात्रामा खेलाडीहरूले उच्च ऊर्जाका साथ खेल्न पाएको देखिएन। न त दर्शकहरूले आफ्नै घरमा खेलाडीहरूको हौसला बढाउने मौका पाए। विश्वकप छनौट खेलाडीहरूका लागि नमिठो पराजयको संस्मरणमा सीमित बन्न पुगेको देखियो।

Share Now