Prakash Adhikari May 24, 2026

काठमाडौं, १० जेठ । काभा महिला भलिबल च्याम्पियनिसिप अन्तरगत आज पनि तीन खेल हुँदै छन् ।

आज पहिलो खेल इरान र श्रीलंकाबीच दिनको १२ बजे पुल बीमा हुने छ । दोस्रो खेल बंगलादेश र कजाकास्तानबीच अपरान्ह २ः३० बजे पुल एमा हुने भएको छ । दिनको तेस्रो खेल अपरान्ह ५ बजे नेपाल र माल्दिपबीच पुल ए मा हुने छ ।

हिजो भएको खेलमा नेपालले पहिलो जित निकालेको थियो।

दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा हिजो नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो।

नेपालले पहिलो सेट २५-१८, दोस्रो सेटमा २५-२० र तेस्रो सेट २५-१३ ले जितेको थियो। जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन् ।

समूह एमा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ। भारत ५ अंकसहित शीर्ष स्थानमा छ। कीर्गिस्तान ३ अंकसहित तेस्रो र अंकविहिन माल्दिभ्स समूहको पुछारमा छ।

नेपालले यो जितसँगै सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आज माल्दिभ्सलाई हराए नेपाल अन्तिम चारमा पुग्नेछ।

हिजो भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो। भारतले माल्दिभ्सलाई २५-९,२५-१४ र २५-१७ को सोझो सेटमा हराएको हो। लगातार दोस्रो जितसगै भारतले सेमिफाइनलमा सम्भावना बलियो बनाएको छ।

हिजो नै राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा कजाकस्तानले श्रीलंकामाथि सोझो सेटमा जित निकाल्यो। अर्को समूहमा कजाकस्तानले श्रीलंकालाई २५-९,२५-१८ र २५-१५ ले पराजित गरेको थियो।

Share Now