Prakash Adhikari June 1, 2026

अहमदाबाद(गुजरात,भारत), १८ जेठ(एजेन्सी) रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) च्याम्पियन बनेको छ।

विराट कोहलीको अर्धशतकमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसिबीले उपाधि रक्षा गरेको हो। १ सय ५६ रनको लक्ष्य पछ्याएको आरसिबीले ५ विकेट गुमाउँदै १२ बल‌अघि नै लक्ष्य पूरा गरेको हो। कोहलीले नटआउट ७५ रन बनाए। उनले छक्कासहित टोलीको जित पक्का गरे।

सिजनभर उच्च प्रदर्शन गरेको आरसीबी पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराउँदै फाइनलमा पुगेको हो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको गुजरातले सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो। गुजरातका लागि वासिङ्टन सुन्दरले नटआउट ५० रन बनाए ।

आरसीबीको जितमा कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्कासहित नटआउट ७५ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। यो आइपीएल प्लेअफमा उनको सर्वाधिक व्यक्तिगत स्कोर समेत हो। विकेट पतन भइरहेका बेला उनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

आरसीबीले आफ्नो पहिलो आइपीएल उपाधि जित्न १८ वर्ष कुर्नुपरेको थियो। तर पहिलो उपाधिपछि भने टोलीले त्यसलाई जोगाउन कुनै समय लगाएन र सफलतापूर्वक उपाधि रक्षा गर्ने इतिहासमा तेस्रो टोली बन्यो।

बैंगलुरुलाई रोक्ने क्रममा बलिङतर्फ जोस हेजलवुडले सुरुमै शुभमन गिल लाई आउट गर्दै गुजरातलाई दबाबमा पारे। टी ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका कुनै पनि फाइनल नहारेका हेजलवुडले फेरि एकपटक फाइनलमा प्रभावशाली प्रदर्शन गरे।

खेलमा भुवनेश्वर कुमारले २ विकेट लिए भने रसिख सलाम ले ३ विकेट हात पार्दै सिजनभरको उत्कृष्ट प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिए। उनले यो सिजन कुल १९ विकेट लिए।

गत वर्षको फाइनलका प्लेयर अफ द म्याच कृणाल पाण्ड्याले पनि महत्वपूर्ण योगदान दिए। उनले ४ ओभरमा २३ रन खर्चेर जोस बटलरको महत्वपूर्ण विकेट लिए। योसँगै उनले आफ्नो करियरमा खेलेका पाँचै आइपीएल फाइनल जित्ने कीर्तिमान कायम राखे।

गुजरात टाइटन्सका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्। टोलीले आफ्नो ५ वर्षको इतिहासमा तेस्रो पटक फाइनल खेलेको भए पनि उपाधि जित्न असफल रह्यो।

गुजरातका बलरहरूले सुरुआतमा केही दबाब सिर्जना गरे पनि कोहलीको उत्कृष्ट इनिङ्सका कारण आरसीबीले दुई ओभर बाँकी छँदै ५ विकेटको जित पक्का गर्‍यो।

 

Share Now