काठमाडौं, १८ जेठ । आगामी आर्थिक वर्ष २०८३-८४को बजेट सार्वजनिक भएपछि पहिलो दिनको नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ।
बजेट अघिको अन्तिम कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
गत शुक्रबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजीबजारसम्बन्धि राम्रा नीतिगत व्यवस्था घोषणा गरेपनि आर्थिक विधेयकमा पूँजीगत लाभकर वृद्धि गरेका कारण आज बजार घट्न गएको हो।
लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको पूँजीगत लाभकर नै अन्तिम हो भन्ने घोषणा गरे पनि विधेयकमार्फत पूँजीगत लाभकर २.५ प्रतिशतले बढाएर १० प्रतिशतसम्म पुर्याएको कारणले बजारमा क्रेताको संख्या बढ्न सकेन।
सोमबार धितोपत्र बजार परिसूचक २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा झरेको छ।ं
परिसूचकसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४९ स्टकको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।








