काठमाडौं, ८ असोज । नेपाली कांग्रेस भातृ संङगठनको रुपमा रहेको नेपाल किसान संघको अधिवेशन गर्न संंघका सदस्यहरुले माग गर्न थालेका छन् ।
संघका केन्द्रीय सदस्य गणेशप्रसाद तिमिल्सिनाले संघलाई पार्टीले उपेक्षा गरेको बताउदै नियमित निर्वाचन गर्न निर्देशन समेत दिन नसक्नु पार्टीको नेतृत्वको ठूुलो कमजोरी भएको बताउनुभयो ।
उहाँले समयमा लोकतान्त्रिक विधिबाट निर्वाचन हुन नसकेकोले संगठन छिन्न भिन्न भएको आरोप लगानुभएको छ । संगठनको जिल्ला समिति कसरी चलेका छन् ? पदाधिकारी कहाँ छन् ? कतै अभिलेख छैन । केन्द्रीय कार्यसमितिको पनि अत्तोपत्तो छैन । न बैठक बस्छ । न पार्टीले कुने विषयमा परामर्श लिने गरेको छ ।
२०६२।६३को आन्दोलनपछि नेपालमा कांग्रेसको नेतृत्वमा गिरिजाबाबुको नेतृत्वमा, सुशील कोइरालको नेतृत्वमा र वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्यो तर कुनै पनि सरकारले किसानका समस्या समाधानका लागि किसान संघलाई अगाडि सार्ने जाँगर देखाएनन् ।
किसान संघका सभापति भानु सिग्देल सरकारको किसान आयोगमा हुनुहुन्छ । नेताहरुको महलमा धाउनका लागि उहाँलाई त्यति परिचय भए पुगेको छ । तर किसानको समस्याको समाधानका कुरा भने नेताहरुको चुनावी भाषणमा बाहेक व्यवहारमा कांग्रेसका कार्यकर्ताहरुले देख्न पाएका छैनन् ।
तात्कालीन नेपालको कृषिप्रधान समाजमा नेपाली किसानहरुलाई संगठित गरी उनीहरुलाई लोकतन्त्रप्रति प्रतिबद्ध बनाउने र लोकतन्त्रको जरा गाँउ गाँउमा पुर्याएर मजबूत बनाउदै कांग्रेसको जग बलियो बनाउने उद्देश्यले नेपाली कांग्रेसका नेता जननायक वी.पी. कोइरालाको अग्रसरतामा किसान संघको स्थापना भएको थियो ।
२०१७ सालमा वी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकार र संसदलाई तात्कालिन राजा महेन्द्रले सैन्यबलका भरमा भंग गरेपछि किसान संघ पनि प्रतिवन्धित बन्न पुग्यो र २०४६सोलमा लोकतन्त्रको पुनर्वहालीसंगै यो संगठन पनि पुनर्जीवित भयो ।
तर पार्टीमा बलिया बांगाहरुको दवदवा भएपछि किसान संघप्रतिको आकर्षण वी.पी.कोइरालाको पालाको जस्तो रहेन । सूर्यभक्त अधिकारीले नेतृत्व सम्हाल्दा केही अस्तित्व देखिएको थियो । तर त्यसपछि यसको अस्तित्व दिउसै लालटिन बालेर खोज्न पर्ने अवस्थामा पुगेको छ । यद्यपि यसका अध्यक्षमा युुवा भन्न मिल्ने उमेरका भानु सिग्देल हुनुहुन्छ ।
नेपाली कांग्रेसका शुभेच्छुक र भातृ संस्थाहरुमा युवा र विद्यार्थीहरुलाई परिचालन गर्नुपर्ने हुनाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अवस्था र नेतृत्वका बारेमा पार्टी सभापतिलाई चासो हुन्छ ।केही चासो ट््रेड यूनियन कांग्रेसको छ बाँकी अरु संगठनहरुको अस्तित्व शोभाको रुपमा मात्र रहेको छ ।
शुभेच्छुक संस्थामा डेमोक्रेटिक लयर्स एशोसिएसन, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी यूनियन(संघ), नेपाल प्रेस यूनियन, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रजातान्त्रिक ईन्जिनियर्स संघ भने सचेत वर्ग भएकोले आफ्ना अधिवेशन समयमा गराउछन् । बाँकी संगठन केही दर्जन व्यक्तिहरुलाई नेताहरुको ढोका धाउने माध्यममात्र भएका छन् । तिने आफ्नो क्षेत्रका कुनै पनि व्यवसायीलाई संगठित गर्न सकेका छैनन् । त्यसको जिउदो उदाहरण किसान संघ हो । महाधिवेशन नभएका अरु भातृ संगठन र शुभेच्छुक संगठनको अवस्था यसको भन्दा भिन्न छैन् । महाधिवेशन भएको समयको भने केही अन्तर होला ।
नेपालका किसानहरु बालीनाली लगाउने बेलामा समयमा मल र बीउ नपाएर छट्पटाउछन् । फलेको फसलको उचित समर्थन मूल्य पाउदैनन् । भनेको समयमा कृषि प्राविधिकको सेवा पाउदैनन् । तर यी विषय संघीय संसददेखि प्रादेशिक संसदमा उठाउने कुनै किसान प्रतिनिधि कांग्रेसले पठाएको छैन । सुटेड बुटेडहरुले अखबारका सूचनाका आधारमा किसानका समस्या उठाउनु परेको छ ।
किसान संघको विधानले त यो संघले किसानहरुलाई क्लब बनाएर संगठित गर्ने, उनीहरुलाई सहकारीमा आवद्ध गराउने उनीहरुको आर्थिक अवस्था उठाउने परिकल्पना पनि गरेको छ । तर पार्टीको घोर उपेक्षामा परेकोले यी बिषयहरु विधानमा नै संकुचित भएर बसेका छन् ।
देशमा नयाँ संविधान आएर प्रदेश र स्थानीय तहको पुनसंरचना भैसकेपछि पनि यो संगठनले आफ्नो संगठानिक अवस्था पुन संरचना गर्न चासो देखाएको छैन । माउ पार्टी नै पार्टीको संगठनप्रति गम्भीर नभएकोले किसान संघमा लागेका युवा सदस्यहरु आफ्नो गुनासो भन्ने र सुनाउने व्यक्ति नपाएर दिक्दार भएका छन् ।


















