विराटनगर(मोरड.), ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज कोशी प्रदेशको विराटनगरमा भेला आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले कोशी प्रदेशस्तरीय संयुक्त भेला आयोजना गर्न लागेका हुन् ।
कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ । सो कार्यक्रमको प्रमुख आतिथ्यता गर्ने क्रममा नेता कोइराला तीन दिन अगावै विराटनगरमा आइसक्नुभएको छ ।
देशका सामु उपस्थित चुनौतीलाई समाधान गर्न सक्षम कांग्रेस बनाउनका लागि संस्थापन इतर समूहले प्रदेशस्तरीय भेला आयोजना गर्न थालेको हो । जेनजी आन्दोलनपश्चात् भएको कांंग्रेसको विशेष महाधिवेशनमा पार्टीका सबै महाधिवेशन प्रतिनिधिहरुको सहभागिता थिएन् । पार्टी कार्यालयमा प्रस्ताव दर्ता गरिए पनि पार्टीको तात्कालीन विधान अनुरुप कार्यसमितिले पारित गरी विशेष अधिवेशन गर्ने निर्णय नगरेको, सहभागी प्रतिनिधिहरुको हस्ताक्षर सनाखत नगरिएको, हुलमुलमा छलछाम गरेर फर्जी र कागजी कोरम पुर्याई सम्पन्न गरिएको विशेष महाधिवेशनमा पार्टीका तात्कालीन महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षीय प्रतिनिधिहरुको मात्रै सहभागिता रहेको थियो ।
सो विशेष भनिएको महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको घोषणा गरेपनि गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विशेष महाधिवेशनद्धारा निर्वाचित पार्टी सभापति गगनथापासहित अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरु पराजित मात्र भएको होइन, नेपालको इतिहासमा नेपाली कांग्रेसलाईे सबैभन्दा कम मत प्राप्त भएकाले यो कार्यसमितिले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्न नसकेको प्रमाणित भएको थियो ।
देशमा संविधानमाथि,संविधानले स्थापना गरेका राज्यका निकायमाथि, स्वतन्त्र न्यायपालिकामाथि, नागरिकका मौलिक अधिकार र आर्थिक अधिकारमाथि सरकारले अतिक्रमण गर्न थालेकोले संविधानको रक्षा, मौलिक अधिकारको रक्षा, आर्थिक अधिकारको रक्षा गर्दै आगामी बर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कांग्रेसमा वृहत्तर एकता र जागरण अभियान संस्थापन इतरबाट सुरु गरिएको हो । इतरसमूहले हालसम्म वागमती, गण्डकी, कर्णाली,सुदूरपश्चिम र मधेशको भेला सम्पन्न गरिसकेको छ । आज कोशी प्रदेश भेला सम्पन्न भएपछि लुम्बिनी भेलामात्र बाँकी रहन्छ ।
कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताउनुभएको छ ।
महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताउँदै भन्नुभयो ‘कोशीबाट सहकार्यको सुरूआत गर्ने भनेर संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको हो
महामन्त्री राईका अनुसार आजको भेला विराटनगरको मनास्लु होटलमा हुने भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेको भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा। शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहनुभएको छ ।
सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ ।








