सानफ्रान्सिस्को(संयुक्त राज्य अमेरिका), ३१ जेठ (एजेन्सी) । कतारले इन्जुरी समयमा गोल गर्दै स्विट्जरल्यान्डलाई १(१ को बराबरीमा रोकेको छ ।
कतार यस खेलमार्फत विश्वकपको इतिहासमा पहिलो पटक अंक बटुल्न सफल भएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार सम्पन्न खेलमा स्विट्जरल्यान्ड जितको नजिक पुगेको थियो।
तर इन्जुरी समयको चौथो मिनेटमा बुआलेम खौखीले होमाम एल अमिनको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै कतारलाई बराबरी दिलाए। गोलसँगै प्रशिक्षक जुलेन लोपेटेगुईको टोलीमा उत्सवको माहोल छायो।
खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राखेको थियो। पहिलो हाफको १७औँ मिनेटमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
रेमो फ्रुयलर कतारी गोलकिपर महमुद अबुनादासँग ठोक्किएपछि स्विट्जरल्यान्डले पेनाल्टी पायो। यद्यपि टेलिभिजन रिप्लेमा पेनाल्टीको अवस्थाअघि फ्रुयलर सामान्य रूपमा अफसाइडमा देखिएको भन्दै विवाद पनि भयो।
विश्वकप २०२२ मा घरेलु टोलीका रूपमा खेलेको कतारले त्यतिबेला आफ्ना तीनै खेल गुमाएको थियो। तर यसपटक उसले विश्वकप इतिहासमै पहिलो अंक हात पार्दै नयाँ उपलब्धि हासिल गरेको छ।
स्विट्जरल्यान्ड भने जित सुनिश्चित गर्न नसक्दा निराश बन्न पुग्यो। टोलीका डान एन्डोयेले केही उत्कृष्ट अवसर सदुपयोग गर्न सकेनन् भने रुबिन भार्गास र एम्बोलोले पनि सजिला मौकाहरू खेर फाले।
अन्तिम समयमा खेलको तीव्रता घटाउँदा स्विट्जरल्यान्डले त्यसको मूल्य चुकाउनुपर्यो र कतारले अप्रत्याशित रूपमा एक अंक खोस्न सफल भयो।
स्विट्जरल्यान्डले जुन १८ मा आफ्नो दोस्रो समूह खेलमा बोस्निया एन्ड हर्जगोभिना विरुद्ध खेल्नेछ। कतारले सोही दिन सह–आयोजक क्यानडासँग भ्यानकुभरमा प्रतिस्पर्धा गर्नेछ।
यो बराबरीसँगै समूह ‘बी’ को प्रतिस्पर्धा अझ रोचक बनेको छ । क्यानडा र बोस्निया एन्ड हर्जगोभिनालले पनि १(१ को बराबरी खेलेका थिए।








