Prakash Adhikari June 19, 2026

जेनेभा, ५ आषाढ (रासस/एएफपी): मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न ‘प्रारम्भिक वार्ता’ शुक्रबार बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’मा हुने योजना रहेको स्विट्जरल्यान्डले बिहीबार पुष्टि गरेको छ ।

स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्झौताको कार्यान्वयनका लागि ‘प्रारम्भिक वार्ता’ गर्न संयुक्त राज्य अमेरिका र इरानका साथै मध्यस्थकर्ताहरू पाकिस्तान, कतार र अन्य सम्बन्धित देशहरूले भोलि बर्गनस्टकमा भेट्नेछन् ।”

यस घोषणाले मध्य स्विट्जरल्याण्डको लुसर्न नजिकै बर्गनस्टकस्थित लक्जरी होटल कम्प्लेक्समा हुने भनिएको बैठकको अनिश्चितताको पर्दा हटाएको छ । यो बैठक सुरुमा मङ्गलबार सोही स्थानमा हुने घोषणा गरिएको थियो ।

उक्त बैठकलाई अमेरिका र इरानबीच फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाबाट सुरु भएको क्षेत्रीय युद्ध अन्त्य गर्न सहमति भएको समझदारीपत्रमा हस्ताक्षर समारोहका रूपमा हेरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पेरिस नजिकै आयोजित एक रात्रिभोज कार्यक्रममा र इरानी राष्ट्रपति मसुद् पेजेस्कियानले तेहरानबाटै विद्युतीय प्रतिमा हस्ताक्षर गर्नुभएको थियो ।

स्वीट्जरल्याण्डमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको विस्तृत विवरण तयार पार्न छलफलमा भाग लिने अपेक्षा गरिएको थियो ।

६० दिन भित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता

समाचार एजेन्सी रोयटर्सले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरे पछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाएको छ ।

रोयटर्सका अनुसार शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ ।

स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्नुभएको थियो ।

सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले दुई देशबीचको शत्रुता अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुई देशका प्रतिनिधिबीच भएको १४– बुदे सम्झौतामा लेबनानमा समेत सैन्य अपरेसनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुबै देशले ६० दिन भित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

(((

Share Now