Prakash Adhikari June 21, 2026

ज्वाइन्ट बेस, एन्ड्रयू(मेरिल्याण्ड, संयुक्त राज्य अमेरिका), ७ आषाढ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको वार्ताका लागि आज स्वजरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

आजदेखि सुरु हुने बर्न वार्ताको लागि उहाँ अमेरिकाको ज्वाइन्ट एण्ड्यु बेस क्याम्पबाट प्रस्थान गर्नुभएको हो । स्विजरल्याण्ड प्रस्थान गर्नु अगाडि उहाँले विमानस्थलमा पत्रकारहरुसंग आफू हस्ताक्षतिर संझौता पालना गराएर मध्यपूर्वमा स्थायी शान्ति कायम गराउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अमेरिका र इरानबीच शान्ति संझौता भए लगत्तै इजरायल र हिजबुल्लाहबीच पनि युद्धविरामा सहमति भएको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति कायम गराउने कार्यमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

वार्ताका लागि अमेरिकी राष्ट्रपतिका दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुनर स्विट्जरल्यान्ड पुगिसक्नुभएको छ ।

शनिबार फक्स न्यूजसँगको अन्तर्वार्तामा भान्सले आफू पनि छिट्टै स्विट्जरल्यान्ड जाने र वार्ता आइतबारबाट नै सुरु हुन सक्ने बताउनुभयो ।

यसैबीच, लेबनानमा इजरायलले गरेको आक्रमणको इरानले विरोध गरेको छ । अमेरिकासँगको समझदारी पत्रमा इरान र यस क्षेत्रका लेबनान लगायत इराननिकट शक्तिहरूको आक्रमणलाई पनि रोक्ने सहमति भएको र इजरायल र लेबनाननबीच शुक्रबार युद्धविराम घोषणा भएपनि आक्रमण नरोकिएको भन्दै इरानको मुख्य सैन्य कमान्ड खातम अल–अन्बियाले शनिवार हर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकाले नयाँ शान्ति समझदारी उल्लङ्घन गरेको र इजरायलले दक्षिणी लेबनानमा युद्धविराम तोडेको भन्दै इरानले यस्तो कदम चालेको जनाएको थियो ।

भान्सले इरानले जलडमरू बन्द गरेको कुनै प्रमाण नदेखिएको बताउँदै फक्स न्यूजसँग भन्नुभयो, “हामीले इरानीहरूले हर्मुज जलडमरू बन्द गरेको कुनै प्रमाण देखेका छैनौं । तर त्यहाँ रहेका विष्फोटक पदार्थहरू हटाउन केही समय लाग्ने भएकाले पूर्णरूपमा नियमित जहाज आवागमनमा केही समय लाग्नेछ ।”

पाकिस्तानद्वारा पुष्टि

पाकिस्तानको विदेश मन्त्रालयले शनिबार इस्लामावाद समझदारी पत्र अनुसार अमेरिका र इरानबीच प्राविधिक स्तरको वार्ता आइतबार स्विट्जरल्यान्डको बुरगेनस्टकमा हुनेछ ।

दुवै देशका प्रतिनिधि तथा मध्यस्थकर्ता पाकिस्तान र कतारका प्रतिनिधिहरू वार्तामा सहभागी हुनेछन् ।

पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा यो प्रक्रियालाई निरन्तर सहयोग गर्नेछ ।

 कूटनीतिज्ञहरूद्वारा पहल

मध्यपूर्व युद्ध रोक्ने अमेरिका–इरानबीचको प्रारम्भिक सम्झौतालाई कायम राख्न र संवाद जारी राख्नका लागि शनिबार स्विट्जरल्यान्डको एक रिसोर्टमा विभिन्न देशका कूटनीतिज्ञहरूको बैठक बसेको छ ।

स्विस विदेश मन्त्रालयले जेनेभाबाट बताएअनुसार लुसेर्न नजिकैको विलासी बुरगेनस्टक रिसोर्टमा कूटनीतिज्ञहरूबीच छलफल भइरहेको छ । थप विवरण भने दिइएको छैन ।

एक कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार शनिबार भइरहेका छलफलहरू तयारी स्वरूपका छन् ।

यो होटलमा उच्चस्तरीय वार्ता सुरुमा शुक्रबारका लागि तय थियो तर एक्कासी स्थगित गरिएको थियो । इजरायलले दक्षिणी लेबनानमा घातक हमला गरेपछि यो प्रक्रिया अनिश्चिततामा परेको छ ।

स्विस सार्वजनिक प्रसारक आरटीएसका अनुसार अमेरिका र इरानका प्राविधिक प्रतिनिधिमण्डल तथा मध्यस्थकर्ता कतार र पाकिस्तानका प्रतिनिधिहरू बैठकमा उपस्थित छन् ।

“स्विट्जरल्यान्डले अमेरिका र इरानबीचको समझदारीको कार्यान्वयनका लागि बुरगेनस्टकमा गोप्य र विश्वसनीय वातावरण उपलब्ध गराइरहेको छ”, विदेश मन्त्रालयद्वारा जारी संक्षिप्त विज्ञप्तिमा उल्लेख छ, “विभिन्न देशका कूटनीतिज्ञहरूले हाल संवाद कायम राख्न प्रयास गरिरहेका छन् ।”

उपस्थित व्यक्ति र छलफलका विषयबारे थप जानकारी विज्ञप्तिमा उल्लेख गरिएकोे छैन ।

इजरायली हमला

शनिबार इजरायलले दक्षिणी लेबनानमा घातक हवाई हमला गरेको छ भने हिजबुल्लाहले जवाफ दिने अधिकार रहेको बताएको छ । यसअघि अमेरिकाले इरानसँगको नयाँ सम्झौतालाई तनावमा पारेको द्वन्द्वलाई रोक्न युद्धविरामको घोषणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले यो हप्ता युद्धका सबै मोर्चाहरू (लेबनानसहित) रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । तर लेबनानमा नयाँ लडाइँ बढेपछि बुरगेनस्टकमा शुक्रबारका लागि तय भएको पछिल्लो वार्ता अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

Share Now