Prakash Adhikari October 23, 2026

 

ल्हासा(तिब्बत,चीन), ६ कार्तिक । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पबाट ठूलो भौतिक क्षति भएको जनाएको छ। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २१ जनालाई सामान्य चोटपटक लागेको छ।

भूकम्पबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी आश्रय उपलब्ध गराउन प्रहरी तथा अग्नि नियन्त्रण विभागका उद्धार टोली परिचालन भएका छन्। उनीहरूले प्रभावित क्षेत्रमा अस्थायी पाल निर्माण गर्ने कार्य गरिरहेका छन्।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प तिब्बतको उक्त क्षेत्रमा पछिल्लो पाँच वर्षयताकै शक्तिशाली भूकम्प हो।

Share Now