फिलाडेल्फिया(संयुक्त राज्य अमेरिका), ७ असार(एजेन्सी)। कुरासाओका गोलरक्षक एलोय रुमले इक्वेडरको निरन्तर आक्रमणलाई रोक्दै १५ वटा उत्कृष्ट बचाउ गरेका छन्।
योसँगै आइतबार बिहान भएको विश्वकप खेलमा कुरासाओले बलियो प्रतिद्वन्द्वी इक्वेडरसँग गोलरहित बराबरी खेल्दै इतिहास रचेको छ।
यो नतिजा सानो टापु राष्ट्र कुरासाओले विश्वकप इतिहासमा पहिलो पटक अंक हासिल गरेको छ। यस नतिजाले दिनको पहिलो खेलमा आइभोरी कोस्टलाई २–१ ले पराजित गरेको जर्मनीलाई समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गर्न पनि मद्दत गर्यो।
३७ वर्षीय रुमले जर्मनीसँग ७–१ को हारपछि सानदार पुनरागमन गर्दै विश्वकप इतिहासकै उत्कृष्ट गोलकिपिङ प्रदर्शनमध्ये एक प्रस्तुत गरे।
उनले कुल १५ बचाउ गरे, जुन सन् १९६६ देखि बचाउको आधिकारिक तथ्यांक राख्न थालिएयता विश्वकपको कीर्तिमानभन्दा एक कम हो।
उक्त कीर्तिमान अमेरिकाका टिम हावर्डले २०१४ मा बेल्जियमविरुद्ध १६ बचाउ गरेर बनाएका थिए। यो बराबरीपछि दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कायम रहे पनि इक्वेडर कठिन अवस्थामा पुगेको छ।
समूह चरणको अन्तिम खेलमा बिहीबार कुरासाओले फिलाडेल्फियामा आइभोरी कोस्टसँग खेल्नेछ भने इक्वेडरले न्यूयोर्कमा जर्मनीको सामना गर्नेछ।








