Prakash Adhikari July 16, 2026

काठमाडौं, ३२ असार । अब सेयर धितोमा शेयरको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।

राष्ट्र बैंकले बुधवार जारी गरेको एकीकृत निर्देशनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सबलताका आधारमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरिएको छ ।

हाल सबै कम्पनीका सेयरमा मूल्यको ७० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्था छ । अब भने कम्पनीको सबलता विश्लेषण गरेर सेयर धितो कर्जा लिन चाहेको हकमा १० प्रतिशत थप कर्जा पाइने व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष सुरु दुईदिन हुनुपूर्व सो निर्देशन जारी गरेको हो ।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको यस्तो कर्जामा धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १ सय ८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ ।

तर, सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि प्रडक्ट पेपर बनाउँदा मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्याङ्कनको आधारमा उच्च मूल्याङ्कन हुने संस्थाको सेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

संस्थाको सबलता विश्लेषण गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना, नियमित साधारणसभा सम्पन्न भएरनभएको जस्ता विषय अध्ययन हुनेछ ।

यस्तो प्रडक्ट पेपर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । एकपटक कर्जा प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनर्मूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा भने नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

Share Now