आम्सटर्डम(द नेदरल्याण्ड्स), ५ साउन । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आज नेपाली राष्ट्रिय क्रिकेट टिम नेदरल्याण्ड्समा अफ्रिकी टिम नामिबियासंग भिड्दै छ ।
आईसीसी लिग २ अन्तरगतको यो १ सय १५ औं खेल हो । खेल नेदरल्याण्ड्सको उत्रेच क्रिकेट मैदानमा हुने छ ।
खेलमा नेपाली टोलीको नेतृत्व एक दिवसीय टोलीका कप्तान रोहित पौडेलले गर्ने छन् । नेपाली टोलीको नेतृत्व गर्दै पौडेलसहितको टोली नेदरल्याण्ड्स पुगिसकेको छ । नेपाली खेल टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने,कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख,गुल्शन झा,करन के.सी., सोमपाल कामी,नन्दन यादव, ललित राजवंशी,भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी नियमितमा राखिएको छ भने रिजर्भमा सन्दीप जोरा,साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री सामेल गरिएको छ ।
नेपाली टोलीले लिग टुका श्रृखलामा प्रतिस्पर्धा गर्नु अगाडि जर्सीमा दुई खेलको एक दिवसीय श्रृखला खेलेको थियो । जसमा दुवै खेल नेपालले जित्यो । त्यसपछि नेदरल्याण्ड्स पुगेको नेपाली टिम नियमित अभ्यासमा रहेको छ ।
त्यस्तै निकट विगतमा भएका पछिल्ला आफ्ना पाँच खेलमा नामिबिया एउटामा विजयी, एउटामा नजिताबिहिन र तीनवटा खेलमा पराजित भएको छ ।
यता नेपाल भने निकट विगतका चार खेलमा विजयी भएको छ भने एकमा पराजय भोगेको छ ।
नेपाल र नामिबियाबीच सम्पन्न पछिल्ला पाँचवटा एक दिवसीय खेलमा नेपालले दुईवटा खेलमा जित निकालेको थियो भने नामिवियाले तीनवटामा ।
लिग टु मा २८ खेलपछि हालसम्म ३२ अंकसहित नेदरल्याण्ड्स तेस्रो, २४ अंकसहित नेपाल पाँचौं र २२ अंक जोडेको नामिबियाले सातौं स्थानमा छन्।
सिरिजको दोस्रो खेल नेपालले साउन ७ गते (जुलाई २३)मा नेदरल्याण्ड्ससंग , साउन ११ (जुलाई २७ )मा नामिबियासंग र साउन १३ (जुलाई २९)मा नेदरल्याण्ड्ससंग खेल्ने छ।








