Prakash Adhikari October 28, 2026

कीर्तिपुर(काठमाडौं),११ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तरगत तेस्रो दिनको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।

पोखराका लागि सर्वाधिक रन अर्जुन घर्तिमगरले बनाए । उनले उनले २५ बलमा ४ चौका र एक छक्काको मद्दतले अविजित ४० रन बनाए । उनले अन्तिम ओभरमा १५ रन जोडे ।

खेलमा महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए ।

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगे ।

पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए । शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे । पोखराले बाई,लेग वाई र नो बलबाट १ । १ र ६ वाइड गरी अतिरिक्तबाट ९ रन जोडेको थियो ।

पोखरालाई रोक्ने क्रममा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर तीन विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

 

Share Now