क्वालालम्पुर(मलेशिया), २० असोज । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोट खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । शनिवार मलेशियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्यो ।
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलआउट भयो । शनिवारको खेलमा सन्दीप लामिछानेले ५ विकेट लिए ।
जारी प्रतियोगितामा उनको कुल ९ विकेट पुगेको छ । म्यानमार विरुद्ध पनि उनले ४ विकेट लिएका थिए ।
मलेसियाको दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।
नेपालले घरेलु टिमको स्कोर ३० रन हुदा पहिलो सफलता हात पार्यो । मलेशियाका सेइद इजाजलाई नेपाली खेलाडी सन्दीप लामिछानेले १३ रनमा आउट गरे ।
त्यसपछि मलेसियाको स्कोर ३६ रन हुदा सन्दिपले नै सुहानलाई ब्यक्तिगत ५ रनमा आउट गरे । त्यसपछि सोमपाल कामीले लगातार २ बलमा २ विकेट लिएपछि मलेसियाले ७५ रनमा ४ विकेट गुमायो । उनले अहमद फेइजलाई ७ रनमा आउट गरे भने मुहम्मद सेहादतलाई खाता खोल्न दिएनन ।
एकपछि अर्को विकेट लिएको नेपालले मलेसियाको स्कोर ८२ रन हुदा ६ विकेट झारेको थियो । जसमा सन्दिपले अरु दुई विकेट लिए । उनले ओपनर साफिक सरिफलाई ४९ रनमा आउट गरे भने विरन्दिप सिंहलाई खाता खोल्ने मौका दिएनन ।
सन्दिपले मलेसियाको स्कोर ८६ रनका हुँदा ब्यक्तिगत पाँचौ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिदै ५ विकेट हात पारे । नेपालका लागि सोमपालले तीन तथा कप्तान पारस खड्काले पनि एक विकेट हात पारे ।
जवाफमा नेपालले १२ ओभर चार बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको नेपालले मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए ।
त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनको दोस्रो विकेट गमायो । तर त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६९रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । पारसले अविजीत ५२ रन बनाए भने ज्ञानेन्द्रले २७ रनको योगदान गरे ।