Prakash Adhikari August 8, 2026
एअरपोर्टमा देउवाः फाइल फोटो

 

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ।

यसअघि साउन २६ गते राति काठमाडौँ अवतरण हुने तय भएको तालिका परिमार्जन गरी अब आगामी बिहीबार (साउन २८ गते) मध्याह्न साढे १२ बजे उहाँ काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण हुनुहुने भएको छ।

कांग्रेस नेता डा. प्रकाशशरण महत र प्रचारहप्रसार संयोजक मीन विश्वकर्माका अनुसार राति अवतरण हुँदा शुभचिन्तक तथा कार्यकर्तालाई स्वागतमा उपस्थित हुन असहज हुने भएकाले आग्रहबमोजिम समय सारिएको हो। देउवा थाइ एयरको उडानमार्फत काठमाडौँ आउने तय भएको छ।

जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनको राति उपचारका लागि सिङ्गापुर जानुभएको थियो। त्यसपछि थप उपचारका लागि ७ चैत २०८२ मा उहाँ हङकङ पुगेका पुग्नुभएको थियो।

करिब पाँच महिना लामो विदेश बसाइका क्रममा उहाँ र उहाँकी पत्नी आरजु राणामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको विषयसमेत सार्वजनिक भएको थियो।

तर विशेष अदालतले हेर्नुपर्ने विषयमा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले उहाँले पक्राउ पूर्जी जारी नगर्न आदेश दिएको छ ।

स्वदेश फर्किएलगत्तै देउवाले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलाका संयोजक डा. शशांक कोइरालाले देउवाले भेलाको उद्घाटन तथा सम्बोधन गर्ने पुष्टि गर्नुभएको छ।

Share Now