Prakash Adhikari October 4, 2026

 

काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

आइतबार खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले पुराना पार्टीहरूको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताउनुभयो ।

आफू माओवादीमै हुँदै नेपालमा पार्टी रूपान्तरण भएर नयाँ नेतृत्व आउनुपर्ने वा नयाँ शक्ति उदाउनुपर्ने कुरा उठाएको स्मरण गर्दै भट्टराईले आज ती दुवै कुरा पूरा भएको बताउनुभयो।

‘१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ,’ उहाँले भन्नुभयो।

शान्ति प्रक्रियामा आए लगत्तैको एक घटना स्मरण गर्दै भट्टराईले भन्नुभयो, ‘शान्ति प्रक्रियामा आएपछि एक जना विदेशी पत्रकारले मलाई नेपालको कांग्रेस र कम्युनिस्ट वृत्तमा भावी नेतृत्व को होला भनेर प्रश्न गरेका थिए। अरूको बारेमा भन्न सक्दिनँ तर कांग्रेसको भावी नेतृत्व गगन थापा हुन् भनेर मैले जवाफ दिएको थिएँ।’

कार्यक्रममा भट्टराईले नेपाल जस्तै दक्षिण कोरिया, मलेसिया लगायत देशहरू कसरी विकसित भए त्यसबाट पाठ सिकेर रूपान्तरण हुन पुराना दलहरूलाई आग्रह गरे । रास्वपाका सभापति रवि लामिछानेलाई पुरै कार्यकाल सरकार चलाउन शुभकामना पनि दिनुभयो ।

सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्ष संविधानको मुख्य खम्बा भएकाले त्यसलाई नचलाउन भट्टराईले आग्रह गर्नुभयो । सकिन्छ प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान नसके हजारौँ बलिदानबाट प्राप्त भएको संविधान मास्ने काम नगर्न उहाँले चेतावनी दिनुभयो । यसैगरी शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्न आग्रह गर्नुभयो।

Share Now