Prakash Adhikari October 4, 2026

काठमाडौं, १८ असोज। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउनुभएको छ।

पार्टीको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभएको छ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताउनुभयो। राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ।

जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिनुभयो। देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उहाँले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो।

‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उहाँहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।’

नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताउनुभयो। भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने उहाँको भनाइ छ।

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताउनुभयो। करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उहाँले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गर्नुभयो।

‘यो यात्राको सुरुवात हो। महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौँ,’ शर्माले भन्नुभयो।

परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उहाँले बताउनुभयो। महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने शर्माको भनाइ छ।

Share Now