Prakash Adhikari October 4, 2026

काठमाडौं, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उहाँले बताउनुभएको हो ।

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दलहरूलाई एकैठाउँमा ल्याउने प्रयत्न गर्ने गरेको भए पनि सरकारबाट भने त्यस्तो नभएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ, राष्ट्रिय मुद्दाहरूमा । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन,’ पोखरेलले भन्नुभयो ‘नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’

यस्तो अवस्थामा भविष्यका प्राकृतिक विपद् र संकटलाई कसरी सामना गर्छौं भन्ने कुरा अत्यन्तै चिन्ताको विषय रहेको पोखरेलको भनाइ छ ।

‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि शंका उब्जिएको छ । जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न,’ उहाँले थप प्रश्न गर्दै भन्नुभयो, ‘यस्तो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिंड्दैछौं कि स्वेच्छाचारी शासनतर्फ हामी हिंड्दैछौं भन्ने प्रश्न उठिरहेको बेलामा लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्त्वपूर्ण प्रश्न बनेको छ ।’

Share Now