Prakash Adhikari October 4, 2026

 

काठमाडौँ, १८ असोज। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई आन्तरिक एकता सुदृढ गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ।

आइतबार काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयोजक दाहालले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादलाई समाधान गर्दै अघि बढ्न सभापति गगन थापालाई सुझाव दिनुभएको हो।

कार्यक्रममा संयोजक दाहालले भन्नुभयो, ‘गगन जी, तपाईंको काँधमा पार्टीको ठुलो जिम्मेवारी छ। पार्टीभित्रका असन्तुष्ट पक्ष र नेताहरूलाई समेत समेटेर सबैलाई मिलाई अगाडि बढ्नुहोस्, यसले मात्र पार्टीलाई थप बलियो बनाउँछ।’

महाधिवेशनको उद्घाटन सत्रमा निवर्तमान सभापति शेरबहादुर देउवासहित पार्टीका केही शीर्ष नेताहरूको अनुपस्थितिप्रति दाहालले विशेष चासो समेत व्यक्त गर्नुभयो।

देश स्वेच्छाचारितातिर जाने खतरा

संबोधनको क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौं अभिव्यक्रि क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उहाँले भन्नुभयो।

साथै, उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्ने यो काममा अझै मिलेर अघि बढ्नुपर्ने भएको जिकिर गर्नुभयो ।

‘हामीले अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उहाँले भन्नुभयो, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जान सक्छ ।’

रविलाई पनि क्रमभंग गर्न सुझाव

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिनुभएको छ ।

 

कांग्रेसको १५ औं महाधिवेशनलाई संबोधन गर्दै उहाँले आफूले पटकपटक क्रमभंगता गर्ने गरेको भए पनि अहिले आफूलाई अलि गाह्रो पर्न थालेको जिकिर गर्नुभयो।

‘‘गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ । शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा,’ उहाँले भन्नुभयो, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ । तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल ।’

साथै, उहाँले गगन र रवि दुवै आफ्नो क्याबिनेटका मन्त्रीहरू भएको स्मरण गर्नुभयो । उहाँहरू दुवैमा राजनीतिक चेत अधिक भएको प्रशंसा गर्दै उहाँले अहिले पनि आफूसँग उत्तिकै माया भएको पनि बताउनुभयो ।

‘चाहे रास्वपाको सभापति रविजी हुनुस् चाहे नेपाली कांग्रेसको सभापति गगनजी हुनुस् । यहाँ लाइन लागेका मेरो क्याबिनेटका मन्त्रीहरू हुनुस् । मलाई सबैप्रति उत्तिकै माया छ,’ प्रचण्डले भन्नुभयो, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौं । यही शुभकामना सबैलाई ।’

Share Now