Prakash Adhikari October 6, 2026

काठमाडौं, २० असोज । नेपालमा हाल पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले गर्दा हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली (बादल) लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली कायम रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ भने मधेस लगायत बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा देशका हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Share Now