भालुवाङ(दाड.), ७ मंसिर। नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले आफूले राजनीतिक यात्रामा पाउनुपर्ने सबै उपलब्धि हासिल गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको सोमबार दाङको भालुवाङमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
आफू पाँचपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै देउवाले अब पद र प्राप्तिको चाहना नरहेको स्पष्ट पार्नुभयो। ‘मैले पाउने सबै पाइसकेँ। पाँचपटक प्रधानमन्त्री भइसकेँ। त्योभन्दा पाउने के हो ? अब मैले देशलाई दिने हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो। लोकतन्त्रको विकासका लागि लाग्ने हो। देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो।’
सम्बोधनका क्रममा उहाँले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्यमान्यतालाई कसैले कमजोर बनाउन नसक्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभयो। लोकतन्त्रलाई थप सुदृढ र संस्थागत बनाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा उहाँले जेनजी आन्दोलनका क्रममा आफूमाथि कसरी आक्रमण गरियो र कसले जोगाए भन्ने प्रसंगसमेत उठाउनुभयो।
उद्घाटन सत्रमा कांग्रेस नेताहरू प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो। अधिवेशनमा सहभागी विभिन्न जिल्लाका नेताहरूले आ–आफ्नो जिल्लाको राजनीतिक अवस्था, संगठनको वर्तमान स्थिति र आगामी रणनीतिबारे धारणा राख्नुभएको थियो।
कार्यक्रम प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो।






