पोखरा(कास्की), ९ कार्तिक । नेपालको घरेलु लिग प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनायो । निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो ।
पल्टनका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो ।
नयाँ पिचमा पहिलो खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ शेखले ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्र्याए । भारतीय खेलाडी रविले आक्रामक ४४ रन बनाएर आउट हुँदा पोखराले १ सय ४७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि तेस्रो विकेटका रुपमा आशिफ आउट भएपछि पोखराले १ सय ६० रनमा तेस्रो विकेट गुमायो । उनले ५२ रन बनाए ।
पीपीएलको पहिलो खेलमा ने अर्धशतक बनाएका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसपछि विनोद भण्डारीले विस्फोटक ४१ रन बनाउदा पोखराले ठूलो लक्ष्य दिन सफल भयो । विनोदले ११ बलमा दुई चौका र ५ छक्का प्रहार गरे ।

जवाफमा १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदा १सय ३९ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको विराटनगरले ३४ रन बनाउदा तीन विकेट खेर फाल्यो । १७ रनमा पहिलो विकेट गुमाएको विराटनगरले २२ रनमा दोस्रो विकेट गुमायो । उसका दुबै ओपनर प्रदिप ऐरी १० र सुनिल धमला ११ रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका जितेन्द्रसिंह ठकुरी पनि १० रनमा आउट हुँदा बिराटनगर निकै दबावमा आयो । विराटनगरको ८८ रन पुग्दा ६ विकेट गुमिसकेको थियो ।
विराटनगरका राजु रिजाल ३० रनमा आउट भए भने भारतीय खेलाडी एन्र्डु सुविक्सन १४ रनमा पेभेलियन फर्किए । त्यसपछि पुष्प थापाले ३० रन जोड्दा बाकी खेलाडी थोरै रनमा आउट भए । बलिङ तर्फ ललितराजवंशीले ३ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच बिनोद भण्डारी घोषित भए।
६ टोलि सम्मिलित प्रतियोगितामा उद्घाटनको दिन एक मात्र खेल रहेको छ। शनिवारबाट भने दिनमा दुई खेल खेलिने छ। बिहान ९ बजे सुरु हुने खेलमा सोमपाल कामि कप्तान रहेको बुटवल ब्लास्टर्सले पारस खड्का कप्तानीको चितवन राइनोजको सामना गर्नेछ। यस्तै दिउसो १ बजेको खेलमा एक्स्पर्ट धनगढी ब्लुज र हुलास काठमाण्डौ रोयल्स भिड्ने छन्।


















