काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नामलाई स्थायी रुपमा वैधानिकता दिएको छ ।
एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएकोमा सो नाम आफ्नो पार्टीसंग मिल्दोजुल्दो भएको कारण देखाउदैऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले पछि दर्ता हुन आएको दलको नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दहालको इजलासले शुक्रबार दुई दलको नाम नै फरक भएको र अस्तित्व पनि फरक फरक देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।
आयोगले दुवै दलका प्रतिनिधिसँग वुधबार छलफल गरेको थियो ।
आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अलग अलग पहिचान देखिएकोले निवेदन खारेज हुने निर्णय गरिएको हो ।


















