काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या ७ हजार १ सय १४ पुगेको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज विहान ९ः३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताउनुभयो ।
यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२ः३० बजेदेखि ४ः०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २ सय ९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।
कांग्रेस महाधिवेशनमा २ सय बढी स्वयंसेवक परिचालन
नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २ सय भन्दाबढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेसको हिजोदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा २ सय भन्दाबढी स्वयंसेवक परिचालन गरिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सहजताका लागि २सय स्वयंसेवक परिचालन गरिएको राससलाई जानकारी दिनुभयो ।
संयोजक लामाले बन्दसत्र हुने ठाउँ र निर्वाचन हुने ठाउँमा स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देश तथा विदेशबाट ७ हजार ५ सय प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।
आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नुभएको छ ।








