मन्ट्रियल, २० असोज (रासस/एएफपी) : क्यानाडाबाट अलग हुने पक्षमा रहेको पार्टी क्युबेकिस (पीक्यू) ले क्यानाडाको फ्रान्सेली भाषी प्रान्त क्युबेकमा भएको निर्वाचनमा विजय हासिल गरेको छ । यद्यपि पार्टीले बहुमत प्राप्त गर्न सकेन । निर्वाचनलाई क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको राष्ट्रिय एकताको सन्देशका सन्दर्भमा चासोका साथ हेरिएको छ ।
पीक्यूका नेता पल सेन्ट–पियरे प्लामन्डन क्युबेकको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँले कम्तीमा सन् २०२९ सम्म स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह नगर्ने बताउँदै यस विषयमा शान्त र सूचित बहस आवश्यक रहेको उल्लेख गर्नुभएको छ । आंशिक परिणामअनुसार पीक्यूले करिब ३० प्रतिशत मत प्राप्त गरेको थियो । सङ्घीयवादी दलहरूबीच मत विभाजन हुँदा पार्टीलाई विजय हासिल गर्न सहज भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध र क्यानाडालाई अमेरिकासँग विलय गर्ने धम्कीबीच भएको निर्वाचनले क्यानाडाको एकताबारे बहस पुनः चर्काएको छ । क्युबेकमा यसअघि सन् १९८० र १९९५ मा स्वतन्त्रतासम्बन्धी जनमतसङ्ग्रह भएका थिए । सन् १९९५ मा क्यानाडामै रहने पक्षमा ५० दशमलव ५८ प्रतिशत मत परेको थियो ।
प्रधानमन्त्री कार्नीले पीक्यूलाई बधाई दिँदै बलियो क्युबेक निर्माण गर्नु बलियो क्यानाडा निर्माण गर्ने अभियानको मूल आधार भएको बताउनुभएको छ । पीक्यूको पुनरागमनलाई जीवनयापनको लागत र फ्रान्सेली भाषाको संरक्षणप्रतिको चिन्तासँग पनि जोडेर हेरिएको छ । पार्टीले फ्रान्सेली भाषा नबोल्ने आप्रवासीको सङ्ख्यासमेत घटाउने नीति अघि सारेको छ ।
क्युबेकको निर्वाचनको दुई सातापछि तेल उत्पादक प्रान्त अल्बर्टामा क्यानाडाबाट अलग हुने प्रक्रिया सुरु गर्ने विषयमा मतदान हुँदैछ । यसैबीच, पीक्यूले ब्रिटिस राजतन्त्रको प्रभाव घटाउने र लेफ्टिनेन्ट गभर्नरका लागि छुट्याइएको रकम कटौती गर्ने प्रस्ताव पनि अघि सारेको छ । सन् २०२५ को सर्वेक्षणमा ८७ प्रतिशत क्युबेकवासीले बेलायती राजतन्त्रसँग लगाव नरहेको बताएका थिए ।