Prakash Adhikari October 27, 2026

 

कीर्तिपुर(काठमाडौं), १० कार्तिक । नेपाल प्रिमियर लिग अन्तरगत आज भएको पहिलो खेलमा इंग्लिस क्रिकेटर डविड मलानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको हो।

चितवनका लागि ओपनर डविड मलानले ७० रनको महत्वपुर्ण योगदान दिए। उनले ५० बलमा ५ चौका र ५ छक्का सहयोगमा ७० रन बनाउँदा आन्द्रे रसेलको बलमा बोल्ड आउट भए।

अर्का ओपनर देव खनालले १५ बलमा १२ रन बनाएर आउट भए। अर्जुन साउद ३ रन बनाउँदा क्याच आउट हुन पुगे। कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहे।

विराटनगरका लागि एंगेलो म्याथुस, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए।

Share Now