न्युयोर्क, २० असोज (रासस/सिन्ह्वा) : अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गर्नुभएको छ । यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ । तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित हुनुभएको हो । धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा हुनुहुन्छ । न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ । दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु भएको जनाइएको छ ।
न्युयोर्क सरकारले दादुराविरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ । साथै, नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।
घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ । अमेरिकामा अक्टोबर १ सम्म यस वर्ष ३ हजार ८८७ जनामा दादुरा पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दुई मात्रा दादुरा, गलगण्ड र रुबेलाविरुद्धको खोप लगाउन सुझाव दिनुभएको छ ।
अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घटेको छ । सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत रहेको छ । स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने लक्ष्य राख्नुभएको छ ।








