Prakash Adhikari October 8, 2026

 

गोवा(भारत), २२ असोज। भारतका बहुप्रतिभावान एवम् चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा हृदयघातका कारण उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहान घरमा बेहोस अवस्थामा भेटिएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरे।

सन् १९५१ जनवरी १ मा जन्मनुभएका नाना पाटेकर (विश्वनाथ पाटेकर) ले सन् १९७८ को चलचित्र ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गर्नुभएको थियो। उहाँले बलिउडका साथै मराठी सिनेमामा पनि आफ्नो अद्वितीय अभिनयको छाप छोड्नुभएको छ। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अपहरण’, ‘वेलकम’ र ‘नटसम्राट’ जस्ता प्रसिद्ध चलचित्रहरूमा उहाँका जीवन्त अभिनय चर्चित छन्।

अभिनयका अलावा उहाँ सामाजिक कार्यका लागि पनि चर्चित हुनुहुन्थ्यो। उहाँले आफैले स्थापना गरेको ‘नाम फाउन्डेसन’ मार्फत भारतका खडेरीपीडित किसानहरूलाई उल्लेखनीय सहयोग पुर्‍याउँदै आउनुभएको थियो। कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उहाँलाई सन् २०१३ मा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो।

उहाँको अप्रत्याशित निधनले भारतीय चलचित्र जगतका साथै विश्वभर रहेका उहाँका प्रशंसकहरूमा शोकको लहर छाएको छ। फिल्मकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Share Now