काठमाडौँ, २२ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुटेको छ । एनपीएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।
त्यसका लागि आइसीसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसीसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिनुभयो ।
“राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन -आइसीसी मान्यता) आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ’’, खड्काले भन्नुभयो, “धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।” आइसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ । त्यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तरराष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताउनुभयो ।
आइसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । त्यसैले क्यानसँगै एनपिएलका टोलीसमेत आइसीसीको निर्णयको प्रतीक्षामा छन् । निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीको भनाइ छ ।
एनपीएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निरोज खतिवडा पनि आइसीसीको निर्णयको पर्खाइमा हुनुहुन्छ । उहाँले आइसीसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गर्नुभयो ।
“आशा छ आइसीसीले छिटो एनपिएललाई अन्तरराष्ट्रिय मान्यता दिनेछ । त्यसोहुँदा हामीले आवश्यकपर्ने थप विदेशी स्टारलाई भित्र्याउन सहज हुनेछ”, खतिवडाले भन्नुभयो ।
यसपटक एनपीएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तरराष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपीएलको चर्चा नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।
क्यानका सचिव खड्काले एनपीएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमासमेत विकास गर्न सकिने बताउनुभयो । यसअघि एनपीएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए ।
“इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ”, सचिव खड्काले भन्नुभयो ।
विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । अन्तरराष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमासमेत पर्नसक्ने सचिव खड्काले बताउनुभयो ।
“स्पोट्र्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ”, उहाँले भन्नुभयो, “विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तरराष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ । त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ ।” सचिव खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय समुदायमा दिन सकिने पनि बताउनुभयो । विभिन्न चुनौतीपछि पनि नेपाल अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपीएलले दिने उहाँको भनाइ छ ।
“इन्टरनासेनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्युर भन्ने मेसेज हामी दिन सक्छौँ”, खड्काले रासससँग भन्नुभयो, “नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ ।”
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमा सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।
एनपीएल–३ मा पनि आठ वटा टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । लिगको उद्घाटन खेलमा कात्तिक ९ गते गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।