Prakash Adhikari October 17, 2026

मस्कट(ओमान), ३१ असोज। ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ छनोट अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा २ सय ३२ रनमा अलआउट भयो ।

ओमान श्रृखला अन्तर्गत सुरुका दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ ।

सबै ३६ खेल नै खेलिसकेको क्यानडा २९ अंकसहित छैटौं स्थानमा उक्लेको छ ।

अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । लिग २ को शीर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना रहेकोले नेपाल बाँकी अन्तिम खेल जित्नुपर्ने दबाबमा छ।

यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपाल २०२७ को वानडे विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको छ । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ क्वालिफायरको सहारा लिनुपर्नेछ ।

युवराजको शतक नेपालका लागि घातक

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर युबराज सम्राको शतकमा निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । सम्राले १ सय १७ बलमा ११ चौका र ४ छक्काको मद्तमा १ सय ५ रन बनाए ।

अर्का ओपनर आरोन जोन्सले ३६ रन बनाए । पहिलो विकेटका लागि सम्रा र आरोन जोन्सनले ७२ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । सम्रा र जोनसनको सुरुवातले क्यानडालाई राम्रो स्कोर बनाउन मदत गरेको थियो ।

खेलमा हर्श थाकेरले ३४ र कप्तान हम्जा तारिकले ३० रन जोडे । समित गोहेलले १७ र आदित्य बर्धराजनले १२ रन जोडे । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुनै समय ठूलो स्कोरतर्फ अघि बढिरहेको क्यानडालाई नेपाली स्पीनरहरुले दबाबमा राखेका थिए । नेपालका लागि सबै १० विकेट स्पीनरले लिए । ललित राजंशीले १० ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछानेले ३, दीपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले १ विकेट लिए । नेपाली स्पिनरहरुले ढिलो विकेट लिएकोले क्यानडाले राम्रो स्कोर बनाउन सक्यो ।

अर्जुन सानदार ब्याटिङ

आजको खेलमा नेपालका लागि पनि युवा ओपनर अर्जुन कुमालले सानदार ब्याटिङ गरे । उनले १ सय १२ बलमा ४ चौकाको मदतले ८७ रन बनाए । ४१ ओभरसम्म क्रिजमा टिकेका अर्जुनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन सकेनन् । एक्लै संघर्ष गरेका अर्जुन आउट भएपछि नेपालले बाँकी विकेट लगातार गुमाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७, इशान पान्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए । करण केसीले अविजित १७ रन जोडे ।

करणले एक छेउबाट इनिङ्स सम्हालेपनि नेपालले ४६औं ओभरमै ३ विकेट गुमाएपछि अलआउट भयो । क्यानडका शिल पटेलले नन्दन यादव र ललित राजवंशीको विकेट लिँदा सन्दीप लामिछाने रनआउट भए ।

क्यानडाका लागि सुदजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले २ । २ विकेट लिए ।

Share Now