काठमाडौं, ३१ असोज । नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२ ८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) तथा अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ।
आर्थिक वर्ष २०८२ । ८३ मा बैंकले करिब रु. ३.४७ अर्ब खुद नाफा आर्जन गर्दै आफ्नो वित्तीय आधारलाई थप मजबुत बनाएको छ। बैंकको पूँजी आधार, जगेडा कोष तथा नेटवर्थमा भएको उल्लेखनीय वृद्धिले बैंकको दीर्घकालीन स्थायित्व तथा भविष्यको व्यवसायिक सम्भावनालाई अझ बलियो बनाएको छ।
सिद्धार्थ बैंकले डिजिटल रूपान्तरणलाई आफ्नो रणनीतिक प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, भौतिक तथा डिजिटल क्रेडिट कार्ड लगायतका आधुनिक बैंकिङ सेवामार्फत ग्राहकलाई सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्दै आएको छ। बैंकले डिजिटल प्रविधिको अधिकतम उपयोगमार्फत सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पहुँचयोग्य बनाउँदै लगेको छ।
बैंकले संस्थागत सुशासन, पारदर्शिता तथा नियामकीय अनुपालनलाई आफ्नो व्यवसायिक संस्कृतिको अभिन्न अङ्गका रूपमा अवलम्बन गर्दै आएको छ। जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, ग्राहक संरक्षण, सम्पत्ति शद्धीकरण अनुपालन तथा जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको दृढ प्रतिबद्धताले नियामक निकाय, ग्राहक, लगानीकर्ती तथा अन्य सरोकारवालाहरूबीच उच्च विश्वसनीयता कायम गरेको छ।
ग्राहक सन्तुष्टि र दीर्घकालीन सम्बन्ध निर्माणलाई उच्च प्राथमिकतामा राख्दै बैंकले ग्राहक सम्बन्ध व्यवस्थापनलाई रणनीतिक रूपमा कार्यान्वयन गरिहेको छ। ग्राहकको आवश्यकता, अपेक्षा तथा अनुभवलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने बैंकको अभ्यासले ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगेको छ।
विगत केही बर्षदेखि नेपालको क्रिकेट खेलको पहिचान बनेको नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक बन्दै आएको सिद्धार्थ बैंकको सुदृढ वित्तीय अवस्था, निरन्तर प्रतिफल वितरण क्षमता, प्रविधिमैत्री बैंकिङ, उत्कृष्ट सुशासन तथा ग्राहक केन्द्रित सेवाका आधारमा बैंकले भविष्यमा पनि ग्राहक, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाका लागि दिगो मूल्य सिर्जना गर्दै नेपालको विश्वासिलो, जिम्मेवार र भविष्यमुखी बैंकका रूपमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।







