Prakash Adhikari October 27, 2026

काठमाडौं,१० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राखेका सर्तका कारण पाकिस्तानी खेलाडीलाई प्रतियोगितामा खेलाउन समस्या भएको बताउनुभएको छ।

‘हरेक बोर्डको आ–आफ्नै कुरा हुन्छ। यसबारे कुरा भइरहेको छ। यो सर्टआउट हुन्छ। पीसीबीले केही सर्त राखेको छ। बोर्डले खेल भन्यो भने खेल्ने हो, नखेल भन्यो भने नखेल्ने हो। एनओसी दिएन भने खेलाउन सक्दैनौं,’ चन्दले भन्नुभयो।

एनपीएलमा कर्णाली याक्सबाट खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि स्वदेश फर्किने भएका छन्। पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखलाका लागि बोलाएपछि फरहानले प्रतियोगिता बीचमै छाड्नुपर्ने भएको छ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार पीसीबीले एनपीएल खेल्न आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो। कर्णाली उक्त रकम तिर्न तयार भए पनि फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि उनलाई तत्काल नेपालमै राख्न नसकिएको घिमिरेले बताउनुभयो।

‘हामी २५ हजार डलर पनि तिर्न तयार थियौं। तर, राष्ट्रिय टोलीमा परेपछि फरहान फिर्ता हुनुको विकल्प रहेन,’ घिमिरेले भन्नुभयो।

घिमिरेले खेलाडीले एनओसी लिएर नेपाल आइसकेपछि पीसीबीले थप रकम मागेको भन्दै असन्तुष्टि जनाउनुभयो। नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने उद्देश्यले पाकिस्तानी खेलाडी अनुबन्ध गरेको अवस्थामा अन्तिम समयमा थप आर्थिक भार सिर्जना भएको उहाँको भनाइ छ।

‘हामीले पाकिस्तानी खेलाडीलाई एनपीएलमा ल्याउनुको उद्देश्य उनीहरूको खेल हेर्नुका साथै नेपाली क्रिकेटको विकासमा लगानी गर्नु पनि हो। नेपाली क्रिकेट अहिले विकासको चरणमा छ। यस्तो अवस्थामा अन्तिम समयमा थप रकम मागिँदा हामी दुःखी छौं,’ घिमिरेले भन्नुभयो।

फरहान अक्टोबर ३१ पछि पुनः नेपाल फर्किएर एनपीएल खेल्ने सम्भावना रहे पनि कर्णालीले सट्टामा अर्को विदेशी खेलाडी ल्याउने तयारी गरेको छ। कर्णालीले फरहानसँगै पाकिस्तानी खेलाडी हुसेन तलातलाई पनि टोलीमा अनुबन्ध गरेको छ।

एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा साहिबजादा फरहान, हैदर अली, हुसेन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्।

Share Now