Prakash Adhikari October 27, 2026
काठमाडौँ, १० कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे । मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे । जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि २ विकेट हात पारे । ललित राजवंशीले १ विकेट लिए ।
Share Now