Prakash Adhikari October 31, 2026
मुस्ताङ, १४ कात्तिकः अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।
भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान  ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई  सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ ।
बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।
मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताउनुभयो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताउनुभयो । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो । उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।
यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले राससलाई जानकारी दिनुभयो ।
Share Now